परराष्ट्रसचिव पौड्यालले भेटे चिनियाँ पराष्ट्रमन्त्री

नेपाल-चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा भाग लिन बेइजिङ पुगेका परराष्ट्रसचिव भरतराज पौड्यालले चिनियाँ परराष्ट्रमन्त्री छिन काङसँग भेटवार्ता गरेका छन्।

उनीहरूबीच बिहीबार दिउँसो बेइजिङमा भेटवार्ता भएको हो। परराष्ट्रसचिव पौड्यालले चिनियाँ परराष्ट्रमन्त्रीसमेत रहेका स्टेट काउन्सिलर छिनसँग भेटवार्ता गरेका हुन्।

छिन स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री भएपछि नेपाली अधिकारीसँग भएको यो पहिलो भेट हो। चीनका लागि अमेरिकाका राजदूत रहेका छिनलाई राष्ट्रपति सी चिनफिङले गत डिसेम्बरमा चीनको विदेश मामिला हेर्ने सो पदमा नियुक्त गरेका थिए।

बेइजिङस्थित नेपाली राजदूतावासले जनाएअनुसार भेटमा नेपाल-चीनबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको थियो ।

सो भेटमा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ, नेपालको परराष्ट्र मन्त्रालयअन्तर्गत चीन मामिला हेर्ने उत्तर-पूर्वी महाशाखा प्रमुख सहसचिव लोकबहादुर थापालगायत दुबै मुलुकका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीको उपस्थिति थियो।

नेपाल-चीनबीच शुक्रबार द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठक बेइजिङमा हुँदैछ। परराष्ट्र्सचिवसहितको नेपाली टोली सोही बैठकमा सहभागी हुन बुधबार बेइजिङ पुगेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *