नागरिकता समस्या तत्काल समाधान गर्न सांसदहरूको माग

सांसदहरूले नागरिकतासम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारकाे ध्यानाकर्षण गराएका छन्। बिहीबारकाे संसद बैठकमा उनीहरूले साे कुरा उठान गरेका हुन्।

प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार रायले नागरिकता समस्या अविलम्ब समाधान गर्न सरकारलाई आग्रह गरे। प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य रायले अंगीकृत नागरिक र जन्मसिद्ध नागरिकका छोराछोरीहरू अझै पनि नागरिकताबाट वञ्चित हुनुपरेको बताए।

नागरिकता नहुँदा राज्यबाट पाउने हरेक सुविधाबाट वञ्चित हुनुपरेको भन्दै उनले नागरिकता समस्या अविलम्ब समाधान गर्न आग्रह गरे।

प्रतिनिधि सभा सदस्य मुक्ताकुमारी यादवले धनुषामा जिल्ला अस्पताल तयारी अवस्थामा रहे पनि उद्घाटन हुन नसकेको भन्दै तुरुन्त सञ्चालन गर्न सरकारसँग माग गरिन्। त्यस्तै राजर्षि जनक विश्वविद्यालयमा भीसी, रेक्टर र क्याम्पस चिफ वर्षौदेखि रिक्त हुँदा विश्वविद्यालयको अवस्था नाजुक बनेको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन्।

प्रतिनिधि सभा सदस्य मैना कार्कीले जाजरकोटमा महिलाहरू पाठेघर खस्ने समस्यामा पर्दा उपचार गर्ने अस्पतालको अभाव भएको भन्दै जाजरकोट अस्पतालको स्तरोन्नति गर्न माग गरिन्।

प्रतिनिधि सभा सदस्य रामकुमार राईले पहाडी जिल्लाहरूमा शव पोष्टमार्टम गर्न समस्या रहेको भन्दै हरेक पालिकामा सरकारले पोष्टमार्टम गर्ने व्यवस्था गराउनुपर्ने माग गरे।

प्रतिनिधि सभा सदस्य रोशन कार्कीले मिटरब्याजी समस्या समाधानका लागि फास्ट ट्र्याकबाट कानून बनाउनुपर्ने बताए।

प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले राष्ट्रिय भूमि आयोग निष्क्रिय रहेको भन्दै त्यसलाई सक्रिय बनाउनुपर्ने बताए। त्यस्तै घरजग्गा किनबेचलाई राजस्वको दायरामा ल्याउनुपर्ने उनले बताए।

उनले घरजग्गा किनबेचलाई राजस्वको दायरामा ल्याउन सकेमा अर्बाैँ राजस्व उठ्ने र पुँजी निर्माण हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर