नेपाल–चीन परराष्ट्रसचिवस्तरीय बैठक

बीआरआईमा नेपालको मौनतापछि जीडीआई अघि बढाउँदै चीन

नेपालले चीनको महत्वकाँक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र सैन्य गठबन्धन ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा आधिकारीक चासो नराखेपछि उसले राष्ट्रपति सी जिनपिङले अघि सारेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (वैश्विक विकासका लागि प्रयास जिडिआई) मार्फत नेपालमा प्रभाव बिस्तारको योजना अघि सारेको छ । जसलाई नेपालले मानविय सहायता र विकासका कार्यक्रमका रुपमा सकारात्मक रुपमा लिएको छ । चीनले बैठकमा जिडिआईको महत्वबारे चिनियाँ पक्षले नेपाली पक्षलाई जानकारी गराएको छ ।

नेपाल र चीनबीच परराष्ट्रसचिवस्तरीय द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठक शुक्रबार बेइजिङस्थित चिनियाँ परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको हो । बैठकमा चिनियाँ लगानीका परियोजना समयमै कार्यान्वयनमा जोड, बिआरआईबारे मौन, जिडिआईबारे छलफल गरेर सम्पन्न भएको हो ।

बैठकपछि शुक्रबार साँझ नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा नेपालले चीनलाई नेपाली उत्पादनको सहज निर्यात बनाइदिन चीनसँग आग्रह गरेको छ । चिनियाँ पक्षले नेपालको विकास तथा समृद्धिका लागि सक्दो सहयोग गर्ने आश्वासन दिएको छ ।

दूतावासद्वारा जारी विज्ञप्तिमा बिआरआईका विषयमा छलफल भए–नभएको उल्लेख छैन । नेपालमा चिनियाँ अनुदानका परियोजनाको समयबद्ध कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएको उल्लेख छ ।

करिब पाँच घन्टा लामो बैठकमा दुई देशबीच आर्थिक साझेदारी, व्यापार प्रवद्र्धन, लगानी र पर्यटन, कनेक्टिभिटी निर्माण, कृषि, शिक्षा, सांस्कृतिक तथा जनस्तरको सम्बन्धबारे छलफल भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौड्याल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका उपमन्त्री सुन बिइतोङले गरेका थिए । बैठकमा राजदूत श्रेष्ठ, परराष्ट्रको चीन हेर्ने उत्तरपूर्वी महाशाखाका सहसचिव लोकबहादुर थापालगायत सहभागी थिए ।

बैठकमा चिनियाँ उपमन्त्रीले एक चीन नीतिप्रति नेपालको निरन्तर अडान र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको सम्मान गर्दै आएको भन्दै खुसी व्यक्त गरे । परराष्ट्रसचिव पौड्यालले एक चीन नीतिप्रति नेपालको अडान दोहोर्‍याएका थिए ।

परराष्ट्रसचिव पौड्यालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति सधैँ अहस्तक्षेप र सम्मान गर्ने चिनियाँ नीतिको सराहना गरे । दुवै पक्षबीच बैठकमा नेपाल–चीन सम्बन्धका सबै पक्ष र सहयोगका विषयमा समीक्षा गरेको नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा छ । दुई देशबीच भ्रमणको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने विषयमा पनि छलफल भएको छ ।

‘बैठकमा चिनियाँ अनुदान सहयोगमा निर्माण भइरहेका विभिन्न पूर्वाधार विकास आयोजना र चिनियाँले ठेक्का लिएका आयोजना समयमै सम्पन्न गर्न कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा सहमति भएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा छ ।

परराष्ट्रसचिव पौड्यालले चीनसँग नेपालको व्यापार घाटा कम गर्न नेपालका प्राथमिक उत्पादनलाई चीनमा निर्वाध रूपमा निर्यातका लागि सहयोग गर्न प्रस्ताव गरेका थिए । चिया, कफी, जडीबुटी, राँगा÷भैँसीको मासु तथा कृषिजन्य वस्तुलाई चीनमा निर्यातका लागि वातावरण बनाइदिन उनको आग्रह थियो । चिनियाँ पक्षले यसलाई सकारात्मक रूपमा लिएको जवाफ दिएको छ ।

नेपालमा चिनियाँ लगानीकर्तालाई पारस्परिक हितका क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्ने पनि चिनियाँ उपमन्त्रीले वचन दिएका थिए । परराष्ट्रसचिव पौड्यालले नेपाललाई सामूहिक पर्यटनका लागि बाहिरी गन्तव्य मुलुकको सूचीमा राखेकोमा चीनको प्रशंसा गरेका थिए । ‘दुई पक्षबीच जनसम्पर्क तथा सांस्कृतिक सहयोग प्रवद्र्धन, नेपाली विद्यार्थी तथा पेसाकर्मीलाई चीनमा छात्रवृत्तिको संख्या बढाउने, नेपालका प्राविधिक विज्ञहरूको क्षमता बढाउनेलगायत विषयमा पनि छलफल भएको छ,’ नेपाली दूतावासको विज्ञप्तिमा छ ।

बैठकमा संयुक्त राष्ट्रसंघ एवं बहुपक्षीय फोरममा दुई देशबीच सहकार्य तथा एक–अर्काको उम्मेदवारीमा पारस्परिक सहयोग गर्ने सहमति पनि भएको छ । उनीहरूबीच दिगो विकास लक्ष्यहरूको कार्यान्वयनमा सहयोगलगायत विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर