विदेशमा मृत्यु भएका नेपालीको बीमा रकम ठगीमा संलग्न बीमा कम्पनीका कर्मचारी पक्राउ

वैदेशिक रोजगारी क्रममा मृत्यु भएका व्यक्तिहरूको बीमा रकम ठगी गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृतलाई पक्राउ गरेको गरेको हो।

पक्राउ पर्नेमा सूर्यज्योति जीवन बीमामा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी रहेकाे प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए। यसअघि प्रहरीले गत शुक्रबार ७ जनालाई सार्वजनिक गरेको थियो।

शुक्रबार नै अर्घाखाँची घर भई वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारीलाई पक्राउ गरेको थियो। उनलाई तत्काल सार्वजनिक नगरेको प्रहरीले अहिले सार्वजनिक गरेको हो।

उनीहरूले नै गिरोहलाई मृतक परिवारको सूचना दिएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो।

यसअघि पक्राउ पर्नेमा सर्लाहीका रुद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्।

आफूहरू ठगिएको भन्दै दुई जनाले प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरु गरेको थियो। प्रहरीले उनीहरूलाई पक्राउ गर्दा ३५ जनाको कागजात पनि बरामद गरेको थियो।

उनीहरूले मृतकका आफन्तलाई विमानस्थलमै भेटेर कुराकानी गर्ने बीमा रकम सहज रूपमा उपलब्ध गराइदिने प्रलोभन दिँदै ठगी गर्ने गरेको पाइएको छ। उनीहरूले पीडितलाई केही समय काठमाडौंको एक होटलमा राख्ने गरेका थिए।

त्यस्तै १३-१४ लाख पीडितले पाउनुपर्नेमा ७-८ लाख रुपैयाँ भने आफैंले राखेर बाँकी रकम पीडितलाई दिने गरेका थिए।

उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, टेकुमा पठाइएको छ।

*असावधानीवश शीर्षकमा बीमा कम्पनीका कर्मचारी हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएकाे छ। -सम्पादक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *