प्रमुख प्रशासकीय अधिकृतको गैरकानूनी आर्जन डेढ करोड

रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। गुप्ताको करिब डेढ करोड रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा हालेको हो।

उनी २०५१ वैशाख २९ गतेमा सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७९ जेठ २५ गतेसम्मको अवधिमा विभिन्न शीर्षकहरूमा भएका आय र व्ययमाथि अख्तियारले अनुसन्धान गरेको थियो।

अनुसन्धान हुँदा एक करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको प्रवक्ता दाहालले बताए। उनले पेस गरेको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको अख्तियारले बताएको छ।

सेवा अवधिमा रहँदा उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी एक करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको अख्तियारको ठहर छ।

उनीमाथि बिगो रकम कायम गरी कैद र जरिवाना गराउन पनि मागदाबी गरेको छ। त्यस्तै उनकी श्रीमती उषा गुप्ताको नाममा रहेको सम्पत्ति पनि जफत गर्न अख्तियारले माग गरेको छ।

नन्दकिशोरले गैरकानूनी रूपमा आर्जन गरेको रकमले जग्गा र घर निर्माणसमेत गरेको प्रवक्ता दाहालले बताए। ती जग्गा भने श्रीमती उषाको नाममा राखिएको भन्दै सम्पत्ति पनि जफत गर्न माग गरेको हो। अख्तियारले उषालाई पनि प्रतिवादी कायम गरेर सम्पत्तिमध्ये बिगो जफत मागदाबी गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *