‘जीवन-मरणको दोसाँधमा रहेका प्रहरी जवान हर्कस विष्टको उपचारमा सरकार र प्रहरीले बेवास्ता गर्‍याे’

राष्ट्रिय सभाका सांसद महेशकुमार महराले जीवन-मरणको दोसाँधमा रहेका प्रहरी जवान हर्कस विष्टको उपचारमा सरकार र स्वयं नेपाल प्रहरीले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रको सुरक्षा गरिरहेका विष्टको हाल काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको उल्लेख गर्दै उनको सम्पूर्ण उपचार खर्च व्यहोर्न पनि सरकारसँग माग गरे। खर्चको अभावमा उनको उपचारमा कठिनाइ भइरहेको उल्लेख गर्दै सांसद महराले उपचारको जिम्मेवारी तत्काल लिन सरकार र नेपाल प्रहरीको ध्यानाकर्षण गराए।

टाउकोमा नसाको समस्याबाट पीडित प्रहरी जवान विष्टको हाल उपचार खर्चको अभावमा चन्दा संकलन कार्य भइरहेको छ। यस्तो अवस्थामा पनि सरकारले उनको उपचारमा चासो नदिएको भन्दै सांसद महराले सरकारप्रति आक्रोश व्यक्त गरे।

उनले भने, ‘प्रहरी जवान हर्कस विष्ट, उहाँको घर चाहिँ डडेल्धुरा हो। उहाँको दरबन्दी चाहिँ प्रदेश प्रमुखको कार्यालयमा थियो। उहाँको उपचार गर्न राज्य किन बेखबर भयो? अहिले चन्दा उठाएर उपचार गरिरहेको अवस्था छ। कसैले दान गरेको भरमा, २ हजार, ३ हजार यस्तै दाताहरूको भरमा सुरक्षाकर्मीको, राष्ट्र सेवक कर्मचारीको अस्पतालको शैय्यामा जीवन जिउन विवश भएका छन्।’

सांसद महराले ठूलो नेताका लागि करोडौं उपचार खर्च व्यहोर्ने सरकारले प्रहरी जवान विष्टको पनि उपचार खर्च व्यहोर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर