सांसदले २ करोड मागेको अडियो प्रकरणमा रास्वपाले माग्यो संसदमा माफी

आफ्ना सामानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा क्षमा मागेको छ।

सोमबारको प्रतिनिधि सभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले यस घटनालाई पार्टीले गम्भीर रूपमा लिएको बताउँदै घटनाले प्रतिनिधि सभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका हुन्।

‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत तपाईंहरूको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं,’ उनले भने, ‘संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं। यो घटनाले विचलित हुने छैनौं। राष्ट्रिय पार्टीहरू यस्ता घटनाबाट टाढा रहनुपर्छ।’

यस्तो घटना विगतमा पनि घटेको र ती सबैको सत्यतथ्य छानबिन हुन सके लोकतन्त्रप्रतिको प्रतिबद्धता थप प्रतिबद्ध हुने बताए। उनले भने, ‘नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन। यस्ता घटना विगतमा पनि भएका छन्। ती सबैको सत्यतथ्य छानबिन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता अझ प्रतिबद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ।’

रास्वपा सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो संवाद सार्वजनिक भएको थियो।

उक्त अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको प्रमुख सचेतक परियारले जानकारी गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *