‘वकिल हुँ, जेलबाट छुटाइदिन्छु’ भन्दै लाखौं ठगी गर्ने पक्राउ

आफू वकिल रहेको र थुनामा रहेका व्यक्तिहरूलाई छुटाइदिने भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १२ घर भएका ४९ वर्षीय मानबहादुर सिंह पक्राउ परेका हुन्।

काठमाडौंको कपन बस्ने सुजता नेपालले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए।

उनले आफू कानून व्यवसायी रहेको भन्दै अर्काको लाइसेन्स नम्बर दुरुपयोग गरी बैकिङ कसुर मुद्दामा थुनामा रहेका मानिसलाई छुटाइदिन्छु, मुद्दा मिलाइदिन्छु, सर्वोच्च अदालतमा पुनरावेदन गर्छु भनी विभिन्न माध्यमबाट पटक-पटक गरी ३१ लाख रुपैयाँ लिएको पाइएको प्रहरीले जनाएको छ।

उनको साथबाट प्रहरीले विभिन्न व्यक्तिको नाममा काटिएका सक्कल तथा खाली चेक, विभिन्न व्यक्तिका नागरिकता, सवारी चालक अनुमतिपत्र, भिसा कार्ड, मुद्दा पुनरावेदनको प्रतिलिपिलगायतका कागजात बरामद गरेको छ।

उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *