अपांग बालिका बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको गुनासो

सुनसरीको इनरुवामा अपांग बालिकाउपर करणीको आरोपमा पक्राउ परेका व्यक्ति छुटाउन पीडित पक्षलाई दबाब दिँदै आएको विषय बाहिरिएको छ।

इनरुवा-४ को उक्त घटनामा पीडक पक्षका आफन्तले पैसाको प्रलोभन दिएर मुद्दा फिर्ता लिन दबाब दिने गरेको पीडित पक्षको भनाइ छ। करणीको आरोपमा प्रहरीले संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही चलाइसकेको छ।

प्रहरी प्रतिवेदनका आधारमा अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलानसमेत गरिसकेको छ। यद्यपि पीडित परिवारले भने आफूहरूले धाकधम्की खेपिरहनुपरेको भन्दै गुनासो गरेका छन्। उनीहरूले पीडक पक्षले आफूहरूलाई मुद्दा फिर्ता लिन धाकधम्की दिँदै आएको बताएका छन्।

पीडितको घरमा केही दिनअघि आगलागीसमेत भएको थियो। जसलाई सुनियोजित दाबी गर्दै आएको पीडित परिवारले त्यसपछि भने असुरक्षित महसुस गरेको छ। मुद्दा फिर्ता लिन दिइँदै आएको धम्की र आर्थिक प्रलोभनको विषय पीडित परिवारले बाहिर ल्याएको हो।

पीडितकी आमाले आफूलाई आएको धम्कीबारे छिमेकीहरूले समेत साथ नदिएको आरोप लगाइन्। घटनाको विषयमा सुनसरी प्रहरीले भने करणीको आरोपमा पक्राउ गरिएका व्यक्तिलाई जिल्ला अदालत बुझाइएको र त्यहाँबाट कारागार चलान भएको बताएको छ।

घरमा लागेको आगलागीको पछिल्लो घटनाबारे भने थप अनुसन्धान जारी रहेको प्रहरी बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर