नेटवर्किङ व्यवसायबाट लाखौं ठगी गर्ने धरानकी जुनुकला पक्राउ

नेटवर्किङ व्यवसायमार्फत लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगपालिका-१७ की ३५ वर्षीया जुनुकला राई छिन्।

उनी चावहिल गंगाहिटीस्थित भिजन ड्रिमरी प्रालि नामक कम्पनीको सञ्चालिका हुन्। उनले उक्त व्यवसायमार्फत ५० लाख रुपैयाँ बढी ठगी गरेको आरोप छ।

युवायुवतीलाई आकर्षक आम्दानीको प्रलोभनमा पारेर उनले ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

उनले १६ देखि २५ वर्ष उमेर समूहका युवायुवतीलाई २५ देखि ४६ प्रतिशतसम्म नाफा, वैदेशिक भ्रमणको प्रलोभन देखाई न्यूनतम ११ हजार ३०० देखि अधिकतम ५ लाख रुपैयाँसम्म तिरी सदस्यता लिन लगाउने र कम्तीमा ४ जना सदस्य बनाएमा लगानी रकम फिर्ता हुने आश्वासन दिएकी थिइन्।

त्यस्तै कम्पनीले उत्पादन गरेको गुणस्तर परीक्षण नगरेको तयारी पोशाक, जुत्ता, हस्तकलाका सामान महँगो मूल्यमा बिक्री गर्न पनि लगाएको पाइएको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

जुनुकलाविरुद्ध १४ जनाले लिखित र ३६ जनाले मौखिक उजुरी दिएका थिए। लिखित उजुरी दिनेले १७ लाख ३ हजार ४०० र मौखिक उजुरी गर्नेले ३८ लाख १९ हजार ४०० रुपैयाँ ठगी गरेको दाबी गरेका प्रहरीले जनाएको छ।

जुनुकलाविरुद्ध काठमाडौं जिल्ला अदलातबाट ५ दिनको म्याद थप अनुमति लिएर ठगीसम्बन्धी मुद्दामा प्रहरी वृत्त, गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *