सिंहदरबारभित्रको फोहोर नउठाएर काठमाडौं महानगरले जनस्वास्थ्यमाथि खेलवाड गर्‍याे : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताएकी छन् ।

बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फाहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताएकी हुन् ।

उनले गर्मीको समयमा त्यसरी फोहोर नउठाउनाले आम जनताको स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु राम्रो नभएको बताइन् । उनले कुनै अर्को उद्देश्य पुर्तिका लागि फोहोर नउठाएर हड्तालको विषय बनाइएको बताइन् ।

मन्त्री शर्माले महानगरपालिकाको मेयरले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नपाइने बताइन् । उनले संघीय सरकारले सहजीकरण गरेर टुंग्याउनुपर्ने विषयमा छलफल गर्नुपर्ने बताइन् । काठमाडौं महानगरपालिकाका मेयरले संविधान, कानून र स्थानीय सरकार सञ्चालन एने बुझेर काम गर्नुपर्ने बताइन् ।

मन्त्री शर्माले सत्तारुढ गठबन्धनका बीचमा कुनै समस्या नभएको बताइन् । उनले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बीचमा सरकार सञ्चालनको सम्बन्धमा आवश्यक संवाद र छलफल भइरहेको बताइन् ।

उनले सरकारले सेवा प्रवाहका काम, नीतिगत, कानूनी कामहरु र बजेट निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरिन् । उनले सत्तारुढ गठन्धनका दलहरुसहितका अन्य दलहरुसँग समेत देशको अर्थतन्त्र सुधारलगायतका विषयहरुमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको बताइन् ।

सञ्चारमन्त्री शर्माले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद् (गठन) आदेश, २०७५ को अनुसूचि संशोधन गर्ने निर्णय गरेको जानकारी दिइन् । त्यस्तै २०८० वैशाख १३ गतेदेखि १५ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाललाई सहभागी हुन स्वीकृत गरेको पनि उनले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले आगामी जेठ ९ गतेदेखि १२ गतेसम्म मंगोलियामा आयोजना हुने एशियाली उत्पादकत्व संगठनको बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव(उद्योग)लाई स्वीकृत दिने निर्णय गरेको छ ।

बैठकले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गर्ने, कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकति दिने, खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने र प्रशोधित फोहोर पानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्ने लगायतका विभिन्न निर्णयहरु गरिएको मन्त्री शर्माले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *