सुडानमा सेना-अर्धसैनिक बल लडाइँ : कम्तीमा ५६ जनाको मृत्यु, ५९५ जना घाइते

सुडानको राजधानी खार्तुममा शनिबारदेखि सेना र कुख्यात अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भीषण लडाइँ भइरहेको छ। आइतबार बिहान पनि उनीहरूबीच गोलीबारी भएको स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यो लडाइँमा हालसम्म कम्तीमा ५६ जनाको मृत्यु भएको र ५९५ जना घाइते भएका समाचार एजेन्सी अलजजिराले जनाएको छ।

स्काई न्यूज अरेबियासँगको अन्तर्वार्तामा सुडानका अर्धसैनिक प्रमुख मोहम्मद हमदान डगालोले आफ्नो सशस्त्र समूह र देशको सेनाबीच शनिबार भएको झडपपछि खार्तुमका ९० प्रतिशतभन्दा बढी रणनीतिक स्थलहरू कब्जा गरेको दाबी गरेका छन्।

देशका सैन्य नेता जनरल अब्देल फताह अल-बुर्हानले डगालोको दाबीलाई अस्वीकार गर्दै सेनाले सरकारी साइटहरूमा नियन्त्रण राखेको बताएका छन्।

अलजजिरासँगको एक अन्तर्वार्तामा डगालो (जसलाई हेमेदती भनेर पनि चिनिन्छ) ले बुरहानलाई ‘अपराधी’ को संज्ञा दिएका छन्।

राष्ट्रपति भवन र राजधानीको सेनाको मुख्यालयलगायत स्थानमा झडप भएको बताइएको छ। मध्य खार्तुमको एक अस्पतालका चिकित्कले सीएनएनलाई अस्पतालले पछिल्ला केही घण्टामा दर्जनौं घाइते नागरिक र सैन्य कर्मचारीहरू भर्ना गरेको बताएका छन्।

याे पनि : सुडानमा सेना र अर्धसैनिक बलबीच किन हुँदैछ लडाइँ?

सुडानको सेनाले र्‍यापिड सपोर्ट फोर्सले खार्तुम एयरपोर्टमा घुसपैठ गरेको र नागरिक विमान जलाएको आरोप लगाएको छ।

‘हाम्रा आदरणीय जनताका लागि विद्रोही शक्तिहरूले हाम्रो देश र यसको राष्ट्रिय सार्वभौमसत्ताविरुद्ध देशद्रोही षड्यन्त्र र आक्रमणको चक्रलाई निरन्तरता दिइरहेका छन्। आज बिहानैदेखि तपाईंका सशस्त्र सेनाका छोराहरू हाम्रो देशको अधिकार र स्वाभिमानका लागि आफ्नो जीवनको लडाइँमा लडिरहेका छन्,’ अर्धसैनिक बलका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन्।

प्रत्यक्षदर्शीहरूले रोयटर्स समाचार एजेन्सीलाई खार्तुम, छेउछाउको शहर ओमदुरमान र नजिकैको बहरीमा भारी तोपको गोली चलेको आवाज आइतबार बिहान पनि सुनिएको बताएका छन्।

सुडानी डाक्टर युनियनले शनिबार सेना र र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्तमा कम्तीमा ५६ सर्वसाधारणको मृत्यु भएको र लडाकुसहित ५९५ जना घाइते भएको बताएको छ।

दुई पक्षहरू सत्ताका लागि प्रतिस्पर्धा गरिरहेका छन् किनकि राजनीतिक गुटहरू २०२१ को सैन्य कूपश्चात एक संक्रमणकालीन सरकार गठन गर्ने वार्तामा छन्। यो तनाव जनरल अब्देल फताह अल-बुर्हानको नेतृत्वमा रहेको सेना र जनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा रहेको आरएसएफबीचको असहमतिबाट उत्पन्न भएको हो। कसरी अर्धसैनिक बललाई सेनामा समाहित गर्ने र कुन अख्तियारले त्यो प्रक्रियाको निरीक्षण गर्ने भन्नेबारेमा विवाद छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर