परराष्ट्रमन्त्री साउदले लिए शपथ

नेपाली कांग्रेसबाट नवनियुक्त परराष्ट्रमन्त्री एनपी (नारायणप्रसाद) साउदले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नै उनलाई मन्त्रीमा नियुक्त गरेका थिए।

कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित साउद पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट नेताको रूपमा चिनिन्छन्। साउद यसअघि सिँचाइमन्त्रीसमेत बनेका थिए।

कांग्रेस केन्द्रीय सदस्य रहेका साउदलाई सभापति देउवाले दाहाल नेतृत्को मन्त्रिपरिषदमा कांग्रेसको तर्फबाट पाँचौं मन्त्रीको रूपमा पठाएका हुन्। वर्तमान सरकारमा साउदसहित कांग्रेसबाट पाँच जना मन्त्री बनिसकेका छन्।

प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी भइरहँदा साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको हो। यद्यपि सरकारले पूर्णता भने अझै पाइसकेको छैन। कांग्रेसले सरकारमा थप पाँच मन्त्री पठाउने तयारी गरेको छ। तर, त्यसका लागि सभापति देउवा र शेखर कोइराला पक्षबीच सहमति जुटिसकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर