६९ करोड बढी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध मुद्दा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड बढी रकम भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

कार्यकारी निर्देशक पौडेलसहित सीडीई नवीनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत सेवानिवृत्त रामबहादुर बुढा, शाखा अधिकृत शिरीष उपाध्याय, प्रबन्ध निर्देशक रोहितमान प्रधान, निर्देशक भुवन महर्जन र प्रबन्ध निर्देशक मित्रलाल गुरौंविरुद्ध मुद्दा दर्ता भएको हो।

उनीहरूले ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ ७० पैसा सरकारी सम्पत्ति हानिनोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइड फ्युल स्टोरेज ट्यांक खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का प्राप्त गरी बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी भएको भन्ने उजुरीमा अनुसन्धान गर्दा भ्रष्टचारजन्य कसुरमा संलग्न पाइएकाले उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

अख्तियारले कार्यकारी निर्देशक पौडेल एक्लैमाथि ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ ७० पैसा, सीडीई पोखरेलमाथि ४९ करोड ४६ लाख ३५ हजार ९४५ रुपैयाँ ७० पैसा, सहायक निर्देशक पोखरेलमाथि २० करोड ३८ लाख ९३ हजार ८२७ रुपैयाँ ६३ पैसा, शाखा अधिकृत महर्जनमाथि ३ करोड ४४ लाख ६८ हजार ७२९ रुपैयाँ, लेखा अधिकृत बुढामाथि १९ करोड ८८ लाख ९४ हजार २८९ रुपैयाँ ३२ पैसा, शाखा अधिकृत उपाध्यायमाथि ४० करोड १ लाख ३९ हजार ७३६ रुपैयाँ मागदाबी लिएकाे छ।

त्यसैगरी रोहितमान प्रधानमाथि २३ करोड ४४ लाख ९६ हजार ९२१ रपैयाँ ३२ पैसा, भुवन महर्जनमाथि ४३ करोड ५७ लाख ४२ हजार ३६८ रुपैयाँ, मित्रलाल गुरौंमाथि ८ करोड ६९ लाख ९७ रुपैयाँ ३८ पैसा मागदाबी गरेकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *