पदभार ग्रहणपछि परराष्ट्रमन्त्रीले भने- प्रधानमन्त्रीको भारत भ्रमणको तयारीको काम सुरु गरिहाल्छु

नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाइहाल्ने बताएका छन्। आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले सो कामलाई अघि बढाइहाल्ने बताएका हुन्।

प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने बताए। उनले आफूले नेपाललाई विश्वभर नै शान्तिप्रिय र लोकतान्त्रिक देशको रूपमा चिनाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

मन्त्री साउदले छिमेकीसहितका देशहरूसँगको नेपालको सम्बन्ध सौहार्दपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ट बनाउँदै लैजाने पनि बताए।

उनले भने,‘नेपाल शान्तिपूर्ण मुलुक हो। हामी संसारका सबै देशहरूसँग हाम्रो लामो समयदेखि इतिहासदेखि नै अत्यन्त सौहार्दपूर्ण, शान्तिपूर्ण, सुमधुर सम्बन्ध रहिआएको छ। हामीले आगामी दिनमा पनि विश्वभरिका देशहरूसँग, छिमेकीहरूसँग हामीले आफ्नो सम्बन्धलाई घनिष्ट बनाउँदै लैजाने छौं। र, यसरी हामी नेपाल एउटा शान्तिप्रिय देशको रूपमा, एउटा लोकतान्त्रिक देशको रूपमा विश्वभरि चिनिने अवस्था आउनेछ भन्ने मैले विश्वास लिएको छु। यसमा हामी छलफल अगाडि बढाउँछौं। भर्खरै म कार्यालयमा आएको छु। सचिवज्यूलगायतका टिमहरू त्यसमा संलग्न हुनुहुन्छ। म सबै कुराको बारेमा ब्रिफिङ लिएर अनि त्यसको बारेमा भन्नेछु।’

त्यस अवसरमा मन्त्रालयका सचिव भरतराज पौड्यालसहित उच्चपदस्थ कर्मचारीहरूले मन्त्री साउदको स्वागत गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर