सरकारलाई द्वन्द्वपीडितको प्रश्न- हाम्रा श्रीमान किन मारियो?

द्वन्द्वपीडित संघर्ष समितिले संसदमा पेस भएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ। संघर्ष समितिले मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो।

समितिले आफूहरुले शान्तिपूर्ण रूपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर विरोध गर्नुपरेको बताए। आन्दोलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै द्वन्द्वपीडित परिवार सदस्य शोभा बीसीले टीआरसीसँग सम्बन्धित विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्न आन्दोलन गरेको बताइन्।

उनले शान्तिपूर्ण रूपमा आन्दोलन गर्दासमेत राज्यले बल प्रयोग गरेको बताइन्। उनले आन्दोलनमा उत्रिएका द्वन्द्वपीडितमध्ये ८ जनालाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको बताइन्।

उनले द्वन्द्वकालमा आफ्ना श्रीमान किन मारेको भन्दै सरकासँग प्रश्न गरिन्। उनले श्रीमान मारिनुको कारण आफूहरूले जान्न पाउनुपर्ने भन्दै पीडकलाई उन्मुक्ति दिने किसिमको विधेयक ल्याए आफूहरूको विरोध जारी रहने चेतावनी दिइन्। उनले विधेयक संशोधन गर्न समिति बनाएर छलफल गरोस् भन्ने पीडितहरूको माग रहेको बताइन्।

प्रदर्शनमा उत्रिएकाहरूले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर्, सरकार मेरो पति खोइ? लुटिएको सम्पत्ति फिर्ता गर्, पीडितलाई परिपूरणको ग्यारेन्टी गर्, द्वन्द्वका पीडितलाई कतिन्जेल ढाँट्छौ? घाइते, अपांग र अशक्त पारिएकाहरूको उपचारको ग्यारेन्टी गर् लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए। केही समययता द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थालगायत द्वन्द्वपीडित परिवारका सदस्यहरूले टीआरसीसँग सम्बन्धित विधेयकको विरोध गर्दै आएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर