यमनमा भागदौड मच्चिँदा ७८ जनाको मृत्यु

यमनको राजधानी सानाको एक विद्यालयमा भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ ।

उक्त विद्यालयमा रमजानको अवसरमा सर्वसाधारणलाई दानस्वरूप केही रकम बाँडिँदै थियो।

यो दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा मानिसहरू आतंकित भएर भागिरहेको देखिन्छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार वर्षौंदेखि गृहयुद्धको सामना गरिरहेको यमनको राजधानी सानामा रहेको उक्त विद्यालयमा प्रतिव्यक्ति करिब ९ डलर बाँडिँदै थियो र सो रकम लिन सयौं सर्वसाधारण भेला भएका थिए।

यो शहर सन् २०१५ देखि हुथी विद्रोहीको नियन्त्रणमा छ।

यमनको गृह मन्त्रालयले यस घटनापछि रकम बाँडफाँड गर्ने जिम्मेवार व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ताले स्थानीय अधिकारीसँग समन्वय नगरी एक्कासी रकम बाँडफाँट हुनु नै कारक रहेको बताएका छन्।

यस घटनामा दर्जनौं घाइते भएको र तीमध्ये १३ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर