सरकारले साना तथा मझौला उद्योगहरूको संरक्षण गर्ने नीति ल्याउनुपर्छ : निजी क्षेत्र

निजी क्षेत्रले साना तथा मझौला उद्योगहरूको संरक्षण गर्दै उद्योगी व्यवसायीहरूको आत्मविश्वास बढाउने नीति ल्याउन सरकारसँग माग गरेको छ ।

शुक्रबार काठमाडौं भएको केटीएम भ्वाइसको वार्षिक उत्साव कार्यक्रममा बोल्दै निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरूले यस्तो माग गरेका हुन् । उनीहरूले सरकारले लिएका नीतिहरूको कारण वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरूले समस्या भोग्नुपरेको आरोप लगाएका छन् ।

व्यवसायीहरूले पछिल्लो समय उद्योगी व्यवसायीहरूको मनोबल कमजोर भएको भन्दै सरकारले व्यवसायीहरूको आत्मविश्वास बनाउने नीति ल्याउनुपर्ने बताए । मुलुकको अर्थतन्त्रमा आएका समस्या तत्काल समाधान गरी साना तथा मझौला उद्योगलाई संरक्षण गर्न नीति ल्याउन आवश्यक रहेको बताए । उनीहरूले बैंकको ब्याजदर एकल अंकमा ल्याएर भाका पुगेर पनि व्यवसायीहरूले तिर्न नसकेको कर्जाको म्यादलाई एक वर्षको लागि पुनःतालिकीकरण गर्न माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले पछिल्लो समय उद्योगी व्यवसायीहरूले बैंकबाट ठूलो ऋण लिन सक्ने र ऋण लिए पनि तिर्न सक्ने अवस्था नभएको भन्दै साना तथा मझौला उद्योगहरूलाई संरक्षण गर्ने सरकारले नीति ल्याउनुपर्ने बताए। उनले मुलुकको अर्थतन्त्र आयातमुखी रहेकाले नेपालको निर्यात संकुचन हुँदै गएको उल्लेख गरे।

उनले मुलुकको राजस्व पनि आयातमा निर्भर भएको भन्दै उद्योगहरूलाई उत्पादनमूलक बनाउन आवश्यक रहेको बताए। उनले अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गएको भन्दै तत्कालका लागि अर्थतन्त्रमा ठूलो समस्या नभएको बताए।

उनले सरकारले अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न तत्काल गर्न काम गर्न नसक्दा अर्थतन्त्र सिथिल अवस्थामा रहेको बताए। उनले व्यवसायीहरूले कर्जा तिर्नका लागि बैंकलाई प्राथमिकतामा राखेर गर्नुपरेको भन्दै सरकारले तत्काल एक वर्षको लागि पुनःतालिकीकरण गर्नुपर्ने माग गरे।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक संकटले घरासाही हुने अवस्थामा पुर्‍याएका उद्योगी व्यवसायीहरूलाई सरकारले आत्मविश्वास बढाउने नीति ल्याउन आवश्यकता रहेको बताए। उनले सरकारले बैंकको ब्याजदर एकल अंकमा नल्याएसम्म अर्थतन्त्र तत्काल सुधार नहुने बताए।

उपाध्यक्ष अग्रवालले चालु पुँजी कर्जा नीतिको कारण उद्योगी व्यवसायीहरूलाई वित्तीय पहुँचमा समस्या भएको भन्दै वित्तीय पहुँच सहज नभएसम्म निजी क्षेत्रको लगानी आकर्षित हुन नसक्ने बताए। उनले विगतमा सरकारले बनाएको नीतिका कारण अहिले उद्योगी व्यवसायीहरूले समस्या भोग्नुपरेको आरोप लगाए। उनले सरकारले आयात भन्दा पनि निर्यात प्रवर्द्धनमा जोड दिएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने माग गरे।

उपाध्यक्ष अग्रवालले निजी क्षेत्रमैत्री राजस्वका नीतिहरू आवश्यक रहेको बताए। उनले असार मसान्त र पुस मसान्तसम्म उद्योगी व्यवसायीहरूले तिर्न नसकेको कर्जाको पुनःतालिकिकरण गर्नुपर्ने बताए।

उनले निजी क्षेत्र हतोत्साहित भएको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रद्वारा प्रवर्द्धित पब्लिक कम्पनीहरू बैंक, बीमा, मेडिकल सबैमा हस्तक्षेप गर्न गलत भएको बताए। उनले अख्तियारलाई कुनै पनि हालतमा निजी क्षेत्रमा प्रवेश गर्न दिन नहुने भन्दै निजी क्षेत्रमा अख्तियार प्रवेश गरे देशले आर्थिक समृद्धि पूरा गर्न नसक्ने बताएस। उनले निजी क्षेत्रमा अख्तियार प्रवेश गरे निजी क्षेत्रको पुँजी पलायन हुने अवस्था आउने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर