ब्रोकर कमिसन घट्यो, जेठ १ देखि लागू हुने

धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । आइतबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले जेठ १ देखि लागू हुने गरी ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको हो ।

हाल ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत कमिसन शुल्क तिर्दै आएका छन् ।

यस्तै, ५० हजारदेखि पाँच लाख रूपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि एक करोड रूपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोड रूपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिसन शुल्क तिर्दै आएका छन् ।

अब कमिसन घटेपछि ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३०६ प्रतिशत कमिसन शुल्क तिर्नुपर्नेछ ।

यस्तै २० लाखदेखि एक करोड रूपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन लाग्नेछ ।

अर्थ मन्त्रालयबाट बोर्डको कायममुकायम अध्यक्षको जिम्मेवारी पाएका सञ्चालक रितेश शाक्यसमेतको उपस्थितिमा बैठकले यस्तो निर्णय गरेको हो । हाल बोर्डको अध्यक्ष भने सरकारले चयन गरिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *