उद्योग व्यवसायमा नकारात्मक प्रभाव पर्ने गरी कानून बनाउदैनौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले भेट गरेका छन्।

बालुवाटारमा शुक्रबार महासंघका पदाधिकारीले प्रधानमन्त्रीसँग भेट गरेका हुन्। भेटमा प्रधानमन्त्री दाहालले महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिएका छन्।

सो भेटमा प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरी वा उद्योग व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानून नबनाउने बताएका छन्।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। सो क्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रवर्धनमा जोड दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

भेटमा प्रधानमन्त्रीले नेपालको संविधानले राज्यको तर्फबाट निजी क्षेत्र र व्यवसायलाई प्रवर्द्धन गर्ने व्यवस्था गरेको भन्दै अर्थतन्त्रमा सङ्कट आएको बेला निजी क्षेत्र संकुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाउने बताए।

प्रधानमन्त्रीले भने ‘हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने व्यवस्था गरेको छ। अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन। यस्तो परिस्थिति सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य र एकअर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती छिचोल्न सकिन्छ। निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छु। निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्ने कुनै पनि कानून बनाउँदैनौँ।’

निजी क्षेत्रलाई समेत राज्यको मर्यादाक्रममा समावेश गर्ने गरी सरकारले छलफल अगाडि बढाएको प्रधानमन्त्रीले स्पष्ट पारे। उनले भने, ‘मैले तपाईंहरूको साधारणसभामा नै भनिसकेको छु, निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समेटिन्छ। निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्न कुनै अप्ठ्यारो छैन। मर्यादाक्रम निर्धारण कसरी गर्ने भन्ने विषयमा मात्र हाम्रो ध्यान छ।’

भेटमा प्रधानमन्त्रीले भर्खरै सम्पन्न साधारणसभाबाट कुशल नेतृत्व आएको र नयाँ कार्यसमितिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकारसँग बलियो सहकार्य गर्ने विश्वाससमेत व्यक्त गरे।

प्रधानमन्त्रीले भने, ‘तपाईंहरूले राम्रो नेतृत्व छान्नुभएको छ। नयाँ नेतृत्वले सरकार र अन्य क्षेत्रसँग बलियो सहकार्य गर्नेछ। हामी सबै मिलेर अर्थतन्त्रका चुनौती छिचोल्दै सुशासन र समृद्धिको लक्ष्य हासिल गर्नेछौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर