संख्यात्मकभन्दा गुणात्मक तालिम प्रदान गर्नेतर्फ तालिम केन्द्रहरू अग्रसर हुनुपर्छ : आईजीपी कुँवर

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले संख्यात्मकभन्दा पनि गुणात्मक तालिम प्रदान गर्नेतर्फ सबै तालिम केन्द्रहरू अग्रसर हुनुपर्ने बताएका छन्।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित आ.व. २०७९/०८० को वार्षिक तालिम क्यालेण्डरको अर्धवार्षिक समीक्षा तथा चालु आ.व. २०८०/८१ को वार्षिक तालिम क्यालेण्डर तर्जुमासम्बन्धी गोष्ठी समापन समारोहमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले सो कुरा बताएका हुन्।

प्रहरी महानिरीक्षक कुँवरले तालिम केन्द्रले प्रदान गर्ने तालिमहरू कार्यक्षेत्रमा प्रभावकारी रूपमा लागू हुने गरी प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण गर्नुपर्ने बताए।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरूले तालिममा प्राप्त गरेका ज्ञान, सीप, कौशललाई अक्षरशः व्यवहारमा लागू गर्दै मनोवृत्तिगत परिवर्तन गर्नुपर्ने आजको आवश्यकता रहेको बताए। प्रशिक्षणमा योग्य भएका प्रशिक्षकहरूमार्फत संगठनमा गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिने, संगठनमा सकारात्मक छवि कायम हुने तथा प्रभावकारी प्रहरी सेवा प्रवाह हुने विश्वास उनले व्यक्त गरे।

तालिम केन्द्रहरूले क्षमता विकास गर्ने गरी गुणस्तरीय प्रशिक्षण प्रदान गर्नुपर्नेमा जोड दिँदै सबै तालिम प्रदायक संस्थाहरूले एकरूपता कायम गर्दै नेपाल प्रहरी तालिम संचालन कार्यदिशालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।

प्रहरी महानिरीक्षक कुँवरले सम्पूर्ण प्रहरी कर्मचारीहरू सामूहिक रूपमा काम गर्दै सरकार र प्रहरी संगठनले लिएको लक्ष्य प्राप्तिका लागि अझ अबल र समयसापेक्षरूपमा परिवर्तित भई कार्यसम्पदान गर्नुपर्ने बताए। सम्पूर्ण तालिम प्रदायक निकायहरूको अनुगमन तथा सुपरीवेक्षण गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सदैव अभिभावकीय रूपमा परिचालन हुँदै तालिम केन्द्रहरूलाई रिसर्च सेन्टरका रुपमासमेत विकास गर्न सहयोग गर्नुपर्ने उनले उल्लेख गरे।

समारोहमा धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईले प्रहरी महानिरीक्षकबाट तालिमका बारेमा प्राप्त निर्देशनहरूलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने बताए। तालिमलाई वृत्ति विकासको रूपमा मात्र नलिई यसलाई राष्ट्र र संगठनको आवश्यकताको रूपमा लिएर राष्ट्र र संगठनको लक्ष्य प्राप्तितर्फ अग्रसर हुनुपर्ने उनले बताए।

संगठनको आवश्यकताअनुसार तालिम क्यालेण्डर तयार पारिएको उनले उल्लेख गरे। विभिन्न तालिम दिने निकायहरूसँग सहकार्य र समन्वय गर्दै समयसापेक्ष तालिम पाठयक्रमहरूलाई थप व्यवस्थित र परिवर्तन गर्दै लैजाने प्रहरी अतिरिक्त महानिरीक्षक राईले जानकारी दिए।

प्रतिष्ठानका सहनिर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द थपलियाले स्वागत मन्तव्य राखेको उक्त समारोहमा प्रतिष्ठानका प्रहरी उपरीक्षक वसन्त रजौरेले गोष्ठीको सार संक्षेप एवं आगामी वर्षको तालिम योजनासहितको प्रस्तुतीकरण गरेका थिए। प्रस्तुतीकरणपश्चात् गोष्ठीमा सहभागी वरिष्ठ प्रहरी अधिकृतहरूसमेतले सुझाव तथा टिप्पणी गरेका थिए।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जद्वारा संचालित तीन दिवसीय उक्त गोष्ठीमा प्रतिष्ठानका साथै प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी शिक्षालय भरतपुर लगायत देशभरका अन्य तालिम प्रदायक संस्थाका प्रमुख, तालिम शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा सेवाकालीन तालिमका विषयमा विभिन्न चरणमा मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरूसँग घनीभूत छलफल भएको थियो।

गोष्ठी समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर