साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेसहित ११ जनालाई थप दुई वर्ष सजाय

उच्च अदालत पाटनले साढे ३३ किलो सुन तस्करीको मुद्दामा प्रमुख प्रतिवादी गोरे भनिने चूडामणि उप्रेतीलगायत ११ जनालाई थप सजाय सुनाएको छ । अदालतले संगठित अपराधको कसुर ठहर गर्दै गत २८ चैतमा उनीहरुलाई सजाय सुनाएको हो ।

उच्च अदालतले जिल्ला अदालतको फैसला सदर गरेको हो । यस्तै, सफाइ पाएका दुई जनालाई पनि सजाय तोकेको छ । न्यायाधीशद्वय सुभाष पौडेल र रमेश ढकालको इजलासले प्रतिवादीलाई एक वर्षदेखि दुई वर्ष तीन महिनासम्म थप कैद सुनाएको हो ।

फैसलाअनुसार गोरेलाई संगठित अपराधको कसुरमा थप एक वर्ष नौ महिना कैद सजाय हुने भएको छ । उनलाई यसअघि जिल्ला अदालतले ५० लाख रुपैयाँ जरिवाना र साढे तीन वर्ष कैद सजाय सुनाएको थियो ।

यस्तै, सुन तस्करीमा संलग्न रहेका गोपालबहादुर शाही, दिलबन्धु थापा र सन्तोष काफ्लेलाई यसअघि जनही एक–एक करोड रुपैयाँ जरिवाना तथा चार–चार वर्ष कैद सजाय तोकिएकोमा उच्च अदालतले अझै दुई वर्ष कैद बढाएको छ ।

दुबईबाट नेपालमा सुन पठाउने हरिशरण खड्काको बिगो घटाएर १० करोड ७ लाख कायम गरिएको छ भने यसअघि सफाइ पाएका सुन व्यवसायीहरु राहुल गोयल र प्रमोद श्रेष्ठले ५०–५० लाख रुपैयाँ बिगो तिर्नुपर्ने भएको छ । यस्तै, अर्जुनप्रसाद खरेल र राजनप्रसाद पन्थलाई थप एक वर्ष नौ महिना कैद हुने भएको छ ।

रामहरि कार्कीलाई एक वर्ष नौ महिना थप कैद, त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीहरू राजकुमार ढकाल, श्रीनारायण यादव र श्यामकृष्ण च्वामु श्रेष्ठलाई एक–एक वर्ष कैद सजाय थप हुने फैसला उच्च अदालतले गरेको छ ।

२१ पुस २०७३ मा तस्करीको साढे ३३ किलो सुन तस्करीको घटना बाहिरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बाहिरिउको सूचना पाएपछि प्रहरीले गोपालबहादुर शाही र सन्तोष काफ्लेलगायतलाई पक्राउ गरेको थियो । उनीहरु सुन तस्करी भएको बयान प्रहरीलाई दिए पनि सुन बरामद भने हुन सकेन । प्रहरीले २२ फागुन २०७३ मा ३३ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *