संसदीय दलको बैठकमा देउवाको बिफ्रिङ : उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन

नेपाली कांग्रेसकाे संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्।

सोमबार संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यति चासो देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याएको बताएको पार्टीका सांसद रामहरि खतिवडाले जानकारी दिए।

उनले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्ने बारेमा पनि सांसदहरूसँग चासो राखेको बताए। उनले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको खतिवडाले जानकारी दिए।

बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका बीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए। सांसदहरूले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने, पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने विषयमा धारणा राखेका सांसद खतिवडाले बताए।

सांसद खतिवडाले सांसदहरूले आगामी बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा थोरैमा एउटा नागरिकले देख्ने योजना, स्थानीय तहको कार्यालयमा जाने बाटोहरू कालोपत्रे गर्ने र व्यवस्थित शहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर