नेपाल प्रहरीलाई लक्ष्मी बैंकले छात्रवृत्ति अक्षयकोष स्थापना गर्न २५ लाख दिने

लक्ष्मी बैंक लिमिटेडले नेपाल प्रहरीलाई छात्रवृत्ति अक्षयकोष स्थापना गर्न २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

प्रहरी र बैंकबीच सोमबार ‘नेपाल प्रहरी-लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारी भएको हो।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले समझदारीपत्र आदानप्रदान गरेका छन्।

छात्रवृत्ति प्रदान गर्नका लागि लक्ष्मी बैंकले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी-लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’ को स्थापनाबापत एकमुष्ट नभई प्रत्येक वर्ष ५ लाख रुपैयाँका दरले कोषमा जम्मा २५ लाख रुपैयाँ उपलब्ध गराउनेछ र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ।

उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट प्रहरी नायब महानिरीक्षक केदार ढकाल र लक्ष्मी बैंकको तर्फबाट बैंकका प्रमुख रिटेल फाइनान्स सर्भिस दीपेश अमात्यले हस्ताक्षर गरे।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक कुँवरले सम्झौताको लागि लक्ष्मी बैंकलाई धन्यवाद दिँदै यस सम्झौताले प्रहरी कर्मचारीहरूको मनोबल उच्च गर्ने, कार्यसम्पादनमा सकारात्मक सुधार ल्याउनुका साथै प्रहरी प्रवाह गर्ने सेवामा गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे। आगामी दिनमा समेत नेपाल प्रहरी र लक्ष्मी बैंकबीच आपसी सहयोग आदानप्रदान हुने अपेक्षा उनले व्यक्त गरे।

उक्त अवसरमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले नेपाल प्रहरीले देश तथा समाजको शान्तिसुरक्षामा गरेको योगदानको प्रशंसा गर्दै बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न क्षेत्रमा समेत सहयोग गर्दै आएको बताए। यस सम्झौताले प्रहरीका सन्ततिहरूलाई गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग हुने अपेक्षा व्यक्त गर्दै उनले आगामी दिनमा नेपाल प्रहरीसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताए।

सम्झौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले तोकिएका नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, पूर्व एवं अवकाश प्राप्त, अमर÷शहीद एवं अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका प्रहरी कर्माचारीका सन्ततिहरूमध्ये उत्कृष्ट अंक प्राप्त गर्ने कम्तीमा २ जना जेहेनदार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ।

शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई वृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षयकोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या समाधान गरिनेसमेत समझदारीपत्रमा उल्लेख गरिएको छ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूलगायत लक्ष्मी बैंक लिमिटेडका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर