आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गरौं : धनराज गुरुङ

सत्तारूढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्।

गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उनले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने पनि बताए।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले किसानको बाली लुटेर लैजाने बाँदरलाई निर्यात गर्दा कसो होला भनी जिज्ञासा पनि राखे।

उनले भने,‘अष्ट्रेलिया विकसित मुलुक हो। त्यहाँको राष्ट्रिय जनावर कंगारु हो। त्यहाँ आर्थिक व्यवस्थापनको सन्दर्भमा त्यहाँ लाखौं कंगारुहरू मार्दैछ। कंगारुको छाला निर्यात गर्दैछन। र, त्यसको मासु पनि प्रयोगमा ल्याउँदैछ। श्रीलंकाले हालसालै एक लाख बाँदरहरू निर्यात गर्ने निर्णय गरेको छ। सभामुख महोदय, हाम्रा गाउँहरूमा पनि अहिले बाँदर आतंक मच्चिएको छ। बाँदर आतंक फैलिएको छ। हामीले भन्दैछौं, खेतबारी बाँझो राख्नु हुँदैन। कृषिमा आधुनिकीकरण गरौं। कृषिमा वैज्ञानिकीकरण गरौं। हामी एकातिर भन्दैछौं, अर्कोतर्फ किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ, सभामुख महोदय। यसो गरे कसो होला सभामुख महोदय कि हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला? यसो भन्दा कतै इकोसिस्टमको कुरा उठाएर डलरवादीहरू चिच्याउने हुन् कि भन्ने मलाई आशंका पनि छ। तैपनि बाँदर आतंकलाई अन्त्य गर्र्नुछ। त्यसैले अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दाखेरि ठीकै हुन्छ जस्तो लाग्दछ सभामुख महोदय।’

उनले मुलुक आर्थिक महासंकटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने बताए।

उपसभापति गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्नु पहिलो शर्त रहेको पनि बताए।

उपसभापति गुरुङले भ्रष्टाचार नियन्त्रण नगरे जुनसुकै उद्योगधन्दा सञ्चालन गरे पनि नेपाल उँभो नलाग्ने आफूले देखेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर