भ्रष्टाचार रोग हो, अन्त्य गर्न सबैले साझा प्रयास र संकल्प गर्नुपर्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐनलाई बलियो बनाएर भ्रष्टाचार सदाका लागि अन्त्य गर्न सरकार दृढ रहेको बताएकी छन्।

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ माथि सांसदले राखेका जिज्ञासामा उनले देशले गरेको प्रतिबद्धता र नयाँ शासकीय स्वरूपलाई दृष्टिगत गरी त्यसलाई सम्बोधन गर्न नयाँ विधेयक ल्याइएको स्पष्ट गरिन्।

मन्त्री शर्माले भनिन्, ‘भ्रष्टाचार रोक्न कानून मात्रै होइन, समाजका सबै अवयव सक्रिय हुनुपर्छ। कानूनका छिद्रलाई देखाएर भ्रष्टाचार गर्ने ठाउँ दिनुहुन्न। भ्रष्टाचार रोग भएकाले अन्त्य गर्न सबैले साझा प्रयास र संकल्प गर्नुपर्छ।’

नीतिगत भ्रष्टाचार रोक्न कानून बनाउँदै विशेष ध्यान पुर्‍याउन आवश्यक रहेको बताउँदै उनले भ्रष्टाचार मानसिक रोग भएकाले निवारणका लागि सबैको सामूहिक प्रयत्न हुनुपर्ने बताइन्।

सदाचारीलाई समाजमा स्थापित गर्ने र भ्रष्टाचारीमाथि प्रश्न उठाउने वातावरण हुनुपर्छ भन्दै मन्त्री शर्माले पैसा कमाउनेलाई प्रतिष्ठित मान्ने र निष्ठाको राजनीति गर्नेलाई कमजोर ठान्ने प्रवृत्तिमा सुधार गर्न सके भ्रष्टाचार अन्य गर्न सकिने बताइन्।

भ्रष्टाचार नियन्त्रण गर्न प्रतिबद्धता र सामूहिक अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

वि.सं. २०७६ मा अघि बढेको सो विधेयक लामो समयपछि प्रतिनिधिसभामा आइपुगेको हो। जवाफका क्रममा उनले विधेयकमाथिको सैद्धान्तिक छलफलमा महत्त्वपूर्ण कुरा उठेको भए पनि दफावार छलफलमा त्यसलाई पूर्णता दिइने विश्वास दिलाइन्।

विधेयक स्वीकृत
बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ लाई बहुमतले स्वीकृत गरेको छ।

यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट मन्त्री शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

बैठकमा सभामुख देवराज घिमिरेले सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदले ७२ घण्टाभित्र विधेयक शाखामा गएर संशोधन प्रस्तुत गर्न सक्ने बताए। प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १३ गते अपराह्न ३ बजे बस्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *