काबुलमा ब्रिटिश दूतावासलाई सुरक्षा दिने सयभन्दा बढी नेपाली बेलायतबाट गोप्य रुपमा फिर्ता

बेलायतले अफगानिस्तानस्थित आफ्नो दूतावासमा काम गरेका एक सय भन्दा बढी नेपाली सुरक्षाकर्मीलाई फिर्ता गरेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि काबुलस्थित ब्रिटिश दूतावासमा रहेका नेपाली सुरक्षाकर्मीलाई उनीहरुको इच्छाविपरीत नेपाल फिर्ता गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गार्जियनले जनाएको छ ।

अगस्ट २०२१ मा काबुलबाट उद्धार हुनेमा नेपालीसँगै केही भारतीय नागरिक पनि थिए । उनीहरुलाई नार्थम्प्टन, रिडिङ, अक्सफोर्ड र स्वीन्डनजस्ता क्षेत्रका होटलमा राखिएको थियो । उनीहरुलाई जबर्जस्ती नेपाल फिर्ता गरिएको गार्जियनले उल्लेख गरेको छ ।

गत मार्चमा करिब १० जना नेपाली सुरक्षा गार्ड, जसले काबुलमा बेलायती दूतावासका कर्मचारीको सुरक्षा गरेका थिए, उनीहरुलाई एक होटलमा छापा मारी पक्राउ गरिएको थियो । यो घटना बाहिरिएपछि बेलायतको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाली सुरक्षागार्डको स्वदेशी फिर्ती तत्काल रोकिएको जानकारी दिएको थियो ।

बेलायतबाट फिर्ता भएका नेपालीले सहयोगका लागि बेलायतको गृह मन्त्रालय, विदेश मन्त्रालय, रक्षा मन्त्रालय, नेपाल सरकार र यूएनएचसीआरलाई सहयोगका लागि पत्र पठाएका छन् ।

‘हामीलाई बेलायतको सीमा सुरक्षा बलबाट गुमराहमा पारियो । हाम्रो इच्छाविपरीत उनीहरुले जबर्जस्ती नेपाल फिर्ता गरे । नेपाल फिर्ता गर्ने क्रममा हामीलाई बेलायतमा बस्न पाउने विकल्प नै दिइएन ।’ बेलायतमा नेपाली सुरक्षा गार्डलाई सहयोग गरिरहेका रुद्र ढकालले भने, ‘यी सुरक्षा गार्डले अग्रपंक्तिमा रहेर सुरक्षा दिएका थिए । तर उनीहरुलाई पछि पारियो ।’

निर्वासित भएकामध्ये ४२ वर्षीय दीपक पुन मगरले आफूहरु अफगानिस्तानमा सधैं खतरामा रहेको बताए । ‘हामीलाई थाहा थिएन कि जीवित हुन्छौं वा हुँदैनौं । जब बेलायत पुग्यौं, तब सुरक्षित महसुस भएको थियो । तर जबर्जस्ती १७ अगस्टमा हामीलाई नेपाल पठाइयो ।’

नेपाली सुरक्षा गार्डको तर्फबाट वकालत गरिरहेका जेमी बेलले उनीहरुलाई जबर्जस्ती हटाइएको जिकिर गरे । बेलायतको गृह मन्त्रालयले अफगानिस्तानबाट भागेका कमजोर र जोखिम भएको व्यक्तिको सुरक्षाका लागि प्रतिबद्ध रहेको र हालसम्म २४ हजार ५ सय व्यक्तिलाई सुरक्षा प्रदान गरेको जनाएको छ । अफगान शरणार्थीको सुरक्षा योजनाबाट बाहिर रहेका नेपालीलाई निकालिएको उसको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर