कपन घटना : एक सातामा पनि खुलेन रहस्य, यी कोणबाट अनुसन्धान गर्दै प्रहरी

काठमाडौंको कपन सरस्वतिनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी व्यवसायी नीरा पाण्डे आचार्य एक साताअघि आफ्नै पसलमा मृत भेटिइन् । शरीरका विभिन्न भागमा थुप्रै पटक चक्कु प्रहार गरेको अवस्थामा यही ७ वैशाखमा उनको शव भेटिएको थियो ।

घटनाबारे अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं लगायत कार्यालयबाट प्रहरी टोली खटिए पनि हालसम्म पाण्डेको मृत्यु र त्यसमा कसैको संलग्नताबारेको रहस्य अझै खुल्न सकेको छैन ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको नेतृत्वमा त्यहाँका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीसहितको टोली र जिल्ला प्रहरी परिसरले बौद्धका प्रहरी नायब उपरीक्षक हरि बस्नेतको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । पसलमा सीसी क्यामरासमेत नभएको र सडकका क्यामेराले नभेटेको प्रहरीले बताएको छ । प्रहरीले आसपास क्षेत्रमा रहेका सिसी क्यामेराका फुटेजबाट समेत अनुसन्धान गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार नजिकैको सीसीटीभी फुटेजमा मोटरसाइकलमा आएकामध्ये एक जना व्यक्ति उनको पसलतर्फ गएको देखिएको छ । तर, उक्त व्यक्तिको नीराको पसलमा पसे कि पसेनन् भन्ने सीसीटीभी देखिएको छैन । ती व्यक्ति पठाओ चढेको पुगेको प्रहरीको अनुसन्धानमा देखिएको स्रोतको भनाइ छ ।

यसबाहेक प्रहरीले नीराको व्यक्तिगत सम्बन्ध, लेनदेन, पारिवारिक सम्बन्ध लगायत कोणबाट पनि अनुसन्धान गरिरहेको प्रहरी स्रोतको भनाइ छ । विदेश जाने तयारीमा रहेकी उनको कसैसँग लेनदेनले घटना भयो कि भन्ने कोणबाट पनि प्रहरी अनुसन्धान अघि बढाएको छ । यसका साथै आफन्तमाथि पनि प्रहरीले निगरानी गरिरहेको स्रोतको भनाइ छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा. मनोज केसीले घटनाबारे अझै अनुसन्धानरत रहेको पर्दाफासलाई बताए । ‘हामी अझै अनुसन्धानरत छौं, निष्कर्षमा पुगिसकेका छैनौं । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ उनले भने ।

बागलुङ घर भएकी नीरा त्यहाँ झन्डै दशकदेखि भाडामा भाँडा पसल गर्दै गर्दै आएकी थिइन् । एक छोरीको आमा उनको पसल कोठाभन्दा केही मिनेटको दूरीमा छ । त्यही कोठा भएको घरमा श्रीमान् योगेशको इलेक्ट्रिोनिक्स पसल छ र त्यस दिन योगेश पनि इलेक्ट्रिोनिक्स पसलमै थिए । तर उक्त घटनाबारे न छिमेकले सुइँको पाए, न श्रीमान् योगेशले ।

प्रहरीका अनुसार घटना साढे २ पछि ३ बजेअघि नै भएको हो । पसलमा उधारो तिर्न आएका व्यक्तिले खबर गरेपछि मात्रै घटनाबारे प्रहरीमा खबर पुगेको थियो । प्रहरी पुग्दा नीरा गम्भीर अवस्थामा थिइन् । महाराजगञ्जस्थित शिक्षण अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर