सेनाको हेलिकोप्टरमार्फत कर्णालीमा २११ गर्भवती तथा सुत्केरीको उद्धार

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा हालसम्म ज्यान जोखिममा परेका २११ गर्भवती र सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

नेपाली सेनाको पश्चिम एयर वेश सुर्खेतका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट ५१ जना सुत्केरी महिलाको उद्धार गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ३४ जना, ०७८/०७९ मा ७८ र चालु आर्थिक वर्ष २०७९/०८० को चैत मसान्तसम्म ४८ जना सुत्केरीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

सुर्खेतबाहेकका नौ जिल्लाका दुर्गम क्षेत्रहरूमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सबैभन्दा धेरै डोल्पा जिल्लाबाट २७ जना र कालिकोटबाट २५ जना सुत्केरी महिलाको उद्धार गरिएको छ । यस्तै जाजरकोटबाट २१ जना, जुम्लाबाट एक, दैलेखबाट २० जना, मुगु ११ जना, रुकुम पश्चिम १४ जना, हुम्ला १९ जना र सल्यानबाट तीन जनाको उद्धार गरिएको उत्तर पश्चिम पृतना हेडक्वार्टर निमारे ब्यारेक सुर्खेतकी मेजर रेनु शाहले जानकारी दिइन् ।

मेजर शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ४९ जना सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जसमा कर्णालीका ३० जना रहेका छन् । उद्धार गरिएकाहरूमा कर्णालीको डोल्पाबाट चार, मुगुबाट दुई, दैलेखबाट ६ जना, हुम्लाबाट दुई, रुकुम पश्चिमबाट तीन जना रहेका छन् । यस्तै जुम्लाबाट एक, कालिकोटबाट तीन, जाजरकोटबाट पाँच जना सुत्केरीको उद्धार गरिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्‍याई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको थियो ।

हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालसम्म ल्याइएका ज्यान जोखिममा परेका महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट २० हजार नगद रकमसमेत उपलब्ध गराउने व्यवस्था रहेको छ । तर, सरकारी निवृत्तिभरण प्राप्त गर्ने व्यक्ति तथा सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीको हकमा भने यस्तो सुविधा लागू हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर