‘जारी’ : अव्यक्त प्रेमको हृदयस्पर्शी कहानी

प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो । वितरकका अनुसार यसले पहिलो सातामा सात करोड बढीको व्यापार गरेको छ । कवि उपेन्द्र सुब्बाले पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशनमा पाइला टेकेका छन् ।

चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । ‘जारी’ का निर्माता रामबाबु गुरुङ हुन् । लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पति-पत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको छ ।

चलचित्र पति नाम्साङ (दयाहाङ राई) र पत्नी हाङ्मा (मिरुना मगर) मै केन्द्रित छ । वि.सं. २०५२ को परिवेशमा तयार पारिएको चलचित्र तत्कालीन समयको संस्कृति, भाषा र पहिरनको दस्तावेज बनेको छ । चलचित्र नाम्साङ र हाङ्माको झगडाको दृश्यबाट सुरु हुन्छ । बिहेको पाँच वर्ष बितिसक्दा निःसन्तान दम्पती हुनु नै उनीहरूबीच हुने कलहको कारण हो ।

सन्तान नहुनुको कारक आफू बन्नु परेपछि हाङ्मा खुसी छैनन् । किनकि दोष उनले मात्र खेप्नुपरेको छ । त्यही सिलसिलामा आफ्नो श्रीमानलाई एकपटक ‘नामर्द’ भनेपछि झगडा उत्कर्षमा पुग्छ । हाङ्माले युप्पारुङ फालेर घर छोडेर माइत जान्छिन् । नाम्साङले हाङ्मालाई फर्काउन छरितोपन देखाउँदैनन् । त्यही क्रममा पालममा जितेर अर्कैले हाङ्मालाई पत्नी बनाउँछ ।

हाङ्माको परिवारले जारी तिर्न नसकेपछि पूर्वपतिको घरमा गोठाला बन्न पुग्छिन् । पूर्वपत्नीलाई जारी तिर्न ल्याएपछि नाम्साङलाई प्रश्नसमेत तेर्सिन्छ । बेहुली बनेर ससम्मान भित्रिएको घरमा हाङ्मा पस्न पाउँदिनन् । उनी गोठमै बस्छिन् र आफ्नो काम गर्छिन् । त्यही क्रममा नाम्साङलाई अर्को विवाहका लागि उनका बुबा सुब्बाले कर गर्छन् । केटी खोज्न केही गाउँमा नाम्साङसँगै उनका साथीहरू पनि पुग्छन् । तर श्रीमती छाडेको भनेपछि सहज हुँदैन । पालम गाउन नआउने नाम्साङले मेलाबाट पनि जोडी पाउदैनन् । त्यस दौरान नाम्साङको आमा बिरामी हुन्छिन् । उनको स्याहारसँगै घरेलु काममा व्यस्त हाङ्मालाई आफ्नै घर फर्काउने प्रयास उनका भाइले गरिरहेका हुन्छन् ।

जारी तिर्ने रकम नहुँदा घर फर्काउन सम्भव हुँदैन । एकदिन नाम्साङकी आमाको देहान्त हुन्छ । एक वर्षलाई शुभकार्य रोकिन्छ । त्यसपछि बुढासुब्बा र नाम्साङको सहारा बन्छिन् हाङ्मा । के नाम्साङले दोस्रो विवाह गर्छन् ? जारी तिरेर हाङ्मा आफ्नै घर फर्किन्छिन् ? हाङ्मालाई पालममा जितेका श्रीमानले के गर्छन् ? यी यस्तै जिज्ञासा मेट्न चलचित्र भवन नै पुग्नुपर्छ । यसको मीठो जवाफ निर्देशक सुब्बाले चलचित्रमा दिएका छन् ।

निर्देशक सुब्बाले लेखनकै क्रममा आफ्नो संस्कृतिलाई सरल ढंगले कोरेका छन् । व्यावसायिक बनाउन अनावश्यक मसलाको प्रयोग गरिएको छैन । अर्थात् विशुद्ध अर्गानिक छ ‘जारी’ । कथामा मौलिकता छ । चलचित्रको पहिलो दृश्यमै पटकथाकारसमेत रहेका निर्देशक सुब्बाले द्वन्द्व स्थापित गर्न सफल भएका छन् । त्यसलाई अगाडि बढाउन उनले फाल्तु दृश्यलाई जोडेका छैनन् । कथा सुरुदेखि नै द्रुत गतिमा अगाडि बढेको छ । नाम्साङ खराब होइनन् तर उनको रिस सही छैन । हाङ्मा पनि उस्तै छिन् । निर्देशक सुब्बाले दुईबीचको अव्यक्त प्रेमलाई दृश्यमार्फत स्थापित गरेका छन् ।

पहिलो दृश्यपछि दुवै बोल्दैनन् । तर उनीहरूबीचको प्रेमलाई दर्शकले पर्दाबाहिर पनि महसुस गर्छन् । उनीहरूको अनुहारमा झल्किने प्रेम लुक्दैन । तर व्यक्त पनि हुँदैन । उनीहरूबीच संवाद कसरी होला ? भन्ने दर्शकको जिज्ञासा सरल रूपमै निर्देशकले मेटाएका छन् । यो उनको सरलतासँगै दृश्य भाषाको ज्ञानका कारण सम्भव भएको हो । यस्ता थुप्रै दृश्य छन्, ती दृश्यले सोझै दर्शकसँग संवाद गर्छन् ।

पर्दामा देखिने पात्रको सुख र दुःखसँगै दर्शकलाई यात्रा गराउन सक्नु नै निर्देशकीय सशक्तता हो । निर्देशक सुब्बाले लेख्नका क्रममा ठूला संवादको प्रयोग नगरेर नै लिम्बू लवज र मिठास भर्न सफल भएका छन् । चलचित्र हेरिरहँदा देखिने दृश्य र प्रयोग हुने ध्वनिले आनन्द दिन्छ । गीतले कथालाई अगाडि बढाउँछ । त्यो मनोरञ्जनका लागि मात्र रखिएको छैन । कथालाई लयमा बगाउन झुमा लिम्बू र गंगा थापाको भूमिका तारिफ गर्न लायक छ ।

कलाकारको अभिनय यो फिल्मको अर्को अब्बल पक्ष हो । अभिनेता राईले नाम्साङ पात्रलाई जीवन्त बनाएका छन् । पहिलो दृश्यमा उनले देखिएको रिस धेरै समयसम्म कायम रहन्छ । यस्तै अभिनेत्री मगर चलचित्रमा शालीन देखिएकी छिन् । उनले प्रतिकार गर्दिनन् तर उनको सहनशीलताले दर्शकको मन चसक्क बनाउँछ । अभिनेता विजय बरालले मंगल सिंहको पात्रमार्फत बाहुन र लिम्बू दम्पतीबाट जन्मिएको सन्तानको सामाजिक परिवेश झल्काउन सफल भएका छन् । काव्यिक चलचित्रको संज्ञा पाएको ‘जारी’ मा जनजाति महिलाको विद्रोहको फरक आयाम पस्कने प्रयास गरिएको छ ।

नेपाल जातजाति, भाषा, संस्कार-संस्कृति र सामाजिक परिवेशका लागि धनी छ भन्ने यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गरिएको छ । निर्देशक सुब्बाले लिम्बू जातिको संस्कार-संस्कृतिलाई समयसँगै सकुशल वर्तमान युगमा अवतरण गराउन सफल भएका छन् । यद्यपि कमीकमजोरी नै नभएको चलचित्र भने होइन् । विविध कमजोरीका बाबजुद यो राम्रो पक्ष धेरै भएको चलचित्र हो । विशेषतः पहिलो हाफमा यसलाई छोट्याउने ठाउँ छ । तर निर्देशक सुब्बाले त्यसमा जाँगर चलाएका छैनन् । कथामा नाम्साङ र हाङ्माको परिवारलाई देखाउँदा उनीहरूसँगै जोडिने समाज र समयकाललाई दृश्यमार्फत स्थापित गर्न निर्देशक सुब्बा चुकेका छन् ।

यद्यपि यो चलचित्रले कलात्मक र व्यावसायिक दुवै मन पराउने दर्शकलाई चलचित्र भवनसम्म ल्याउने ल्याकत देखाइसकेको छ । मसलेदार र कलात्मक भनेर विभाजित हुने दर्शक चलचित्र हेर्न सँगै देखिएका छन् । यो निर्माता, निर्देशक र कलाकारको ठूलो सफलता हो । ‘कालोपोथी’, ‘सेतो सूर्य’ र ‘ऐना झ्यालको पुतली’ ले प्रदर्शनका लागि गर्नुपरेको संघर्ष ‘जारी’ ले सोच्नै परेन । यसले कलात्मक चलचित्रको व्यावसायिक पक्षको सबलतालाई समेत प्रमणित गरेको छ । यो चलचित्रको महत्त्व वर्तमान समयभन्दा पनि भविष्यमा धेरै हुनेछ ।

‘कबड्डी’ शृंखलाका निर्देशक रामबाबु गुरुङ निर्माता रहेको यस चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरसँगै प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङलगायतका कलाकाकरको अभिनय रहेको छ । कार्यकारी निर्माता मणिराम पोखरेल रहेको चलचित्रलाई स्टेशन फाइभले वितरण गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर