कंगो मिसन प्रकरणमा जागिर गुमाएका दुई क्याप्टेनलाई सेवामा फर्काउन अदालतको फैसला

नेपाली सेनाको सैनिक विशेष अदालतले संयुक्त राष्ट्रसंघको कंगो मिसनमा भएको अनियमितता बाहिर ल्याएको निहुँमा अन्य कारबाही भोग्न बाध्य भएका दुई जना सहसेनानी ( क्याप्टेन) लाई सेवामा फर्काउन फैसला गरेको छ ।

सैनिक विशेष अदालतका अध्यक्ष महेशप्रसाद पुडासैनी र सदस्यहरू रक्षासचिव किरणराज शर्मा तथा सेनाको प्राड विवाकका उपरथी रत्नप्रकाश थापाको इजलासले उनीहरूलाई सेवामै फर्काउने फैसला गरेको हो । कोर्ट मार्सलको यसअघिकाे  निर्णय बिहीबार बसेको विशेष अदालतकाे इजलासले उल्ट्याएको हो ।

यी दुवै अधिकारीमाथि नेपाली सेनाभित्रको आर्थिक अनियमितताको खबर मिडियामा पुर्‍याउन सहयोग गरेको अभियोगमा कारबाही थालिएको थियो ।

कोर्ट मार्सलमार्फत सेनाभित्रको आन्तरिक सूचना मिडियामा चुहाएको ठहर गर्दै भवानीदल गणमा कार्यरत सहसेनानीद्वय राजेन्द्र सिम्खडा र कुमार गुरुङलाई जागिरबाट बर्खास्त गरिएको थियो ।

सिम्खडा र गुरुङ ज्वालादल गणको २६ औं डफ्फाका रूपमा शान्ति मिसनका लागि प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहेका बेला आर्थिक अनियमिततासम्बन्धी एउटा खबर मिडियामा आएको थियो। त्यो खबर मिडियामा ल्याउन सहयोग पुर्‍याएको आरोप लगाउँदै २०७७ असोजदेखि सिम्खडा र गुरुङलाई निगरानीुका लागि भन्दै ७६ दिन सैनिक हिरासतमा समेत राखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *