शैक्षिक सत्रको सुरुमै ७७ जिल्लामा पुग्यो पाठ्यपुस्तक

शिक्षा मन्त्रालयले यस वर्ष शैक्षिक सत्रको सुरुवातमै देशका ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ । विगतमा शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक पुग्नै गाह्रो पर्ने गरेकोमा यस वर्ष विद्यालय खुल्ने बेलामै पुर्याइएको हो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ६ देखि १२ कक्षाको पाठ्यपुस्तक छपाइदेखि वितरणको जिम्मा लिँदै आएको छ । तर, केन्द्रले जिम्मेवारी अनुसार काम गर्न नसक्दा विगतमा पाठ्यपुस्तक समयमै नपुगेको गुनासो आउने गरेको थियो । यसपटक सबै जिल्लामा पाठ्यपुस्तक पुगेको र वितरणको काम भइरहेको केन्द्रको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले शैक्षिक सत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्याउने लक्ष्य राखेर काम गरेको र सफल भएको बताए । उनका अनुसार हालसम्म करिब ९० प्रतिशत पाठ्यपुस्तक वितरण भइसकेको छ । सुवेदीले समयमै कागज खरिद, कर्मचारी परिचालन र सबै छपाइ मेसिनको प्रयोगले सफलता पाएको बताए ।

जनक शिक्षाका अनुसार ६–१२ कक्षासम्मका लागि एक करोड ५० लाख थान पुस्तक छाप्ने जिम्मा पाएकोमा एक करोड ३३ लाख ९५ हजार सात सय थान पाठ्यपुस्तक वितरण भइसकेको छ ।

केन्द्रको विराटनगर कार्यालयबाट १६ लाख ५४ हजार चार सय, जनकपुर कार्यालयबाट १५ लाख ८० हजार तथा भरतपुर कार्यालयबाट १४ लाख १५ हजार, बुटवल कार्यालयबाट १४ लाख २५ हजार, पोखरा कार्यालयबाट ११ लाख ७४ हजार पाँच सय, नेपालगञ्ज कार्यालयबाट १५ लाख ४४ हजार, सुर्खेत कार्यालयबाट आठ लाख १६ हजार चार सय, धनगढी कार्यालयबाट १८ लाख ९० हजार तथा भक्तपुरको सानोमिठीस्थित केन्द्रीय कार्यालयबाट १८ लाख ९६ हजार चार सय थान पाठ्यपुस्तक वितरण भएको छ ।

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी निजी संस्थाले पाएको छ । ती संस्थाले पनि सबै पुस्तक छपाइ गरेर वितरण गरिसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर