नयाँदिल्लीमा एससीओ बैठक : भारत र चीनका रक्षामन्त्रीले मिलाएनन् हात

भारतको नयाँ दिल्लीमा आयोजित भारत–चीन रक्षामन्त्री स्तरीय बैठकमा दुवै देशका मन्त्रीले हात नमिलाएको विषयले अहिले चर्चा पाएको छ । चिनियाँ रक्षामन्त्री ली शांगफु शुक्रबारदेखि सुरु भएको संघाई सहयोग संगठन (एससीओ) बैठकका लागि भारत आएका हुन् ।

त्यसक्रममा बैठकअघि भारत–चीनबीच भएको मन्त्रीस्तरीय वार्तामा भारतीय रक्षामन्त्री राजनाथ सिंहले चिनियाँ रक्षामन्त्रीसँग हात नमिलाएको विषय बाहिरिएको हो । यद्यपि, रक्षामन्त्री सिंहले अन्य देशका समकक्षीसँग भने हात मिलाएका थिए ।

यो विषयले दुई देशबीच रहेको सीमा तनावलाई सतहमा ल्याएको छ । गलवान क्षेत्रमा दुवै देशका सेनाबीच भएको भीडन्तपछि पहिलोपटक भारतमा दुवै देशका रक्षामन्त्रीबीच यस प्रकारको भेट भएको हो ।

उक्त भेटवार्ता १ घन्टासम्म चलेको थियो । यस क्रममा भारतको तर्फबाट वार्ताको मुख्य विषय सीमा नै थियो । वार्तामा भारतका रक्षामन्त्री सिंहले सीमा तनावमा रहेसम्म दुवै देशको सम्बन्धमा सुधार नहुने बताएका थिए । उनले दुवै देशबीच सामान्य सम्बन्धका लागि सीमामा आमनेसामने हुने अवस्था अन्त्य गर्नुपर्ने बताए ।

चीनले दुवै देशको सेनाको बीच सहकार्य सुरु गर्न राखेको प्रस्ताव पनि भारतले अस्वकार गरेको छ । भारतले सीमा शान्ति भएपछि मात्र यो प्रस्तावमा सहमति दिन सकिने जनाएको छ ।

एससीओको बैठकको अध्यक्षता भारतका रक्षामन्त्री सिंहले गरेका छन् । बैठकमा चीनका साथै, रुस, ताजिकिस्तान, इरान र अन्य देशका रक्षामन्त्री पनि सहभागी छन् । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ भर्चुअल माध्यमबाट बैठकमा सहभागी हुने भएका छन् ।

नयाँ दिल्लीमा भइरहेको बैकमा क्षेत्रीय सुरक्षा चुनाती र सुरक्षासँग सम्बन्धित अन्य विषयमा छलफल हुने भएको छ । अफगानिस्तानको विषयमा पनि बैठकमा छलफल हुने भएको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर