नाक, कान र घाँटीको समस्याबाट बच्न के गर्ने? यस्ता छन् चिकित्सकका सुझाव

अहिले घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। कोरोना भाइरसको बढ्दो संक्रमण र काठमाडौंको वायु प्रदूषणका कारण पनि घरबाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने चिकित्सकहरूले सुझाव छ। यो हरेक काठमाडौंवासीको समस्या हो। मास्क नलगाई हिँडडुल गरे नाक, कान र घाँटीमा समस्या आउँछ । मास्क नलगाई घरबाहिर निस्किए बिरामी हुने साझा समस्या छ राजधानीवासीमा।

अल्का अस्पतालका नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. शाश्वत कटवाल मौसम परिवर्तनसँगै नाक, कान र घाँटीका बिरामीहरू बढेको बताउँछन्। मौसम परिवर्तनका कारण नाक सुक्खा हुने र संक्रमित बढ्ने गरेको उनले बताए। उनले पछिल्लो समय नेपालमा वायु प्रदूषणको मात्रा बढिरहेकाले मास्कको अनिवार्य प्रयोग गर्न र घरबाहिर निस्किएपछि हातमुख राम्रोसँग सफा गर्न सुझाव दिए।

उनले नाक, कान र घाँटीको समस्या सकेसम्म घरमै उपचार गर्न सकिने र सहन गर्न नसके मात्रै अस्पताल जानु उचित हुने बताए। उनले नेपालमा एन्टिबायोटिकको धेरै अनावश्यक प्रयोग भइरहेको भन्दै चिकित्सकको सल्लाह र सुझाव लिएर मात्रै औषधीको प्रयोग गर्नुपर्नेमा जोड दिए।

प्रस्तुत छ, अल्का अस्पतालका नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. शाश्वत कटवालसँग न्यूज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश :

मौसम परिवर्तनसँगै अलि बढी नाक, कान र घाँटीका बिरामीहरू बढेको देखिन्छ, किन?
हाम्रो जुन नर्मल म्युकोजा भन्ने लाइनिङ हुन्छ, नाकको त्यो वेदर चेन्ज (मौसम परिवर्तन) ले गर्दा ड्राइ (सुक्खा) हुन्छ। त्यही भएर संक्रमित हुने सम्भावना बढी हुन्छ। त्यसैले जहिले पनि मौसम परिवर्तन हुँदा संक्रमण हुने सम्भवाना बढी हुने हो। धेरैजसो राइनो भाइरस भन्छौं हामीले। यो चाहिँ जाडो महिनामा संक्रमित हुने सम्भवाना धेरै हुन्छ। रुघाखोकी लाग्ने कारण पनि त्यही नै हो। हाम्रो नर्मल म्युकोजा जुन हुन्छ नाकको, त्यसले राम्रोसँग फंक्सन (कार्य) गर्न नपाएर, सुक्खा भएर, राम्रोसँग काम गर्न नसकेर संक्रमण बढिरहेको हुन्छ।

नाक, कान र घाँटीले फरक-फरक काम गर्छन् तर यिनीहरू कसरी अन्तरसम्बन्धित छन्?
रुघा लागिराख्यो भने र नाक र कानबीचको पाइप (नसा) बन्द भयो भने कानमा इन्फेक्सन देखिने वा घाँटीमा इन्फेक्सन देखिने भयो भने त्यही नाक र कानको बीचको पाइप (नसा) जुन इन्टरकनेक्टेड छ, त्यसले गर्दा इन्फेक्सन एकअर्कामा जाने भएकाले गर्दा नाक, कान, घाँटीसँगै जेडिएर आउँछ।

कुनै बेला पनि नाक, कान र घाँटीको समस्या आइरहेको नै हुन्छ तर हामीले त्यसको उपचार घरबाट नै खोजिरहेका हुन्छौं, यसलाई कसरी हेर्ने?
धेरैजसो नाक, कान र घाँटीमा समस्या हुने भनेको एलर्जी र ग्यास्ट्रिकले गर्दा धेरै फरक पार्छ। हाम्रो समस्या के छ भने नाक अलि दुख्यो भने पिनास भयो, अलिकति घाँटी दुखे टन्सिल भयो भन्छौं र एन्टिबायोटिक खाइहाल्छौं। धेरैजसो समयमा भने इन्फेक्सन भएको हुँदैन। प्रायः हामीले एक्स्ट्रिम अफ टेम्परेचर फुडहरू नखाने हो भने पनि धेरै फरक पर्छ। ओरलाइजिङ मेन्टेन गरेको खण्डमा पनि धेरै फरक पर्छ। हामी एकैपटक एन्टिबायोटिकमा जम्प गर्नुपर्ने हुँदैन।

हामी सामान्य रूपमा घरबाट नै समाधान खोज्छौं तर बिरामी धेरै भइसकेपछि मात्रै अस्पताल जान्छौं, यसलाई कसरी सुधार्न सकिन्छ?
हाम्रो नाक, कान र घाँटीमा समस्या हुँदा एकैपटक आत्तिएर अस्पताल जानुपर्दैन। पहिला घरायसी उपचार नै गर्ने हो। त्यसले समाधान हुँदै गयो, सहज भयो भने अस्पताल जानु पर्दैन। तर एक–दुई दिनमा त्यो समाधान भएन वा समस्या बढ्दै गयो भने अस्पताल गएको राम्रो हुन्छ।

नाक, कान र घाँटीका समस्या हुँदा कस्तो अवस्थामा अस्पताल जानुपर्छ?
नाकबाट रगत आउने भनेको नाथ्री फुट्ने नै हो। हाम्रो अरू ठाउँमा काटिएको जस्तै हो। तर हामी नाथ्री फुटिसकेपछि धेरै आत्तिन्छौं, त्यसपछि समस्या धेरै हुने हो। त्यसले हामीलाई प्रेसर बढाउँछ। रगत पनि बढी बग्छ। हामीले नआत्तीकन बस्यो भने नाक पिन्च गरेर बस्ने हो भने रोकिन्छ। त्यसपछि हामीले खोजतलास गर्नुपर्छ कि अरू रोगले पो नाकबाट रगत आएको हो कि भनेर।

९० प्रतिशत जति केसहरूमा डिजिज प्रोसेस नभएर साधारण नाकको नाथ्री फुटेर मात्रै रगत आउने हो। हामीले घाँटी दुख्ने बित्तिकै एजिथ्रोभाइसिन ४-५ दिनसम्म चलाइदिन्छौं। २१ दिनसम्म चलाएको बिरामी पनि मैले भेटेको छु। आफ्नै हिसाबले ठीक भए पनि, नभए पनि उहाँले खाइरहनुभएको थियो। ठीक नभएकाले लगातार २१ दिन खानुभएको थियो। हामीले यदि सहन गर्न सक्ने क्षमताभन्दा बढी भएको छ वा फिभर आयो वा खाना खान निकै नै गाह्रो भयो भने बल्ल अस्पताल जाने हो। नत्र सामान्य उपचार घरमा नै गरेर निको हुन्छ।

प्रदूषण बढिरहेको छ, सामान्य नागरिकले त्यसबाट बच्नका लागि कस्ता सावधानी अपनाउने?
हामीले मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ। मास्कले नरोक्ने फोहोर पनि हुन्छन् जो हाम्रो नाक र मुखमा अड्किएर बस्छ। त्यसैले जब हामी कार्यालयबाट घर र बाहिर निस्किएपछि घर जान्छौं, पहिला नाक सफा गर्ने पानीले, त्यसपछि कुल्ला गर्ने, त्यसपछि मात्रै हाम्रा दिनचर्या, कामहरू सुरु गर्नुपर्ने हुन्छ। त्यसले पनि संक्रमित हुनबाट बचिन्छ। हाम्रोमा एन्टिबायोटिक मिस्युज (गलत प्रयोग) धेरै नै छ। हामी साधारण कुरामा पनि एन्टिबायोटिक खान्छौं। त्यो ठूलो गल्ती हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *