बैंक तथा वित्तीय संस्था ‘नयाँ शोषक’ को रूपमा उदाए : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’ को संज्ञा दिएका छन्।

बैंक तथा वित्तीय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पारेका थुप्रै कथाहरू रहेको मन्त्री किरातीको भनाइ थियो।

होटल एशोसिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गरे।

मन्त्री किरातीले पहिले शोषकहरू दौरासुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताए।

उनले शहरमा पनि बैंक तथा वित्तीय संस्थाहरूको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको बताए। मन्त्री किरातीले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउन सक्ने अवस्था नरहेको पनि बताए।

मन्त्री किरातीले प्रकृति र संस्कृतिलाई जोगाउने खालको विकास नीतिको आवश्यकता पनि औंल्याए। उनले होटल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्दै त्यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने आश्वासनसमेत दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *