निबन्धकार भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण

प्रसिद्ध हास्यव्यंग्य निबन्धकार भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न भैरव काठमाडौंस्थित बत्तीसपुतलीको शिल्पी थिएटरमा लोकार्पण गरिएको हो ।

उपन्यासमा अर्यालको जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको छ । आफू रोएर पनि अरुलाई हसाउन सक्ने स्वभावका भैरव अर्यालको वास्तविक घटनामा आधारित रही पुस्तक लेखिएको लेखक सिन्धुलीयको भनाइ छ ।

कार्यक्रममा पत्रकार रोचक घिमिरेले हास्यव्यंग्य क्षेत्रमा भैरव अर्यालको अतुलनीय योगदान रहेको बताए । भैरव आर्यालले हास्यव्यंग्य क्षेत्रमा लेखेका लेखमार्फत नेपाली साहित्य जगतले ठूलो फड्को मारेको उनको भनाइ छ ।

भैरव अर्यालसँग निकट सम्बन्ध भएका कारण पत्रकार घिमिरेले आफू यो स्थानसम्म पुग्न सहयोग मिलेको बताए । भैरव अर्याल र रमेश विकलका लेखमार्फत साहित्य क्षेत्रमा आफ्नो रुचि बढेको उनको भनाइ छ । भैरव अर्यालसँगको पहिलो भेटबाटै एकअर्काप्रति आकर्षित भएका कारण पनि साहित्य क्षेत्रमा केही सहजता पाएको उनले स्मरण गरे ।

कवियत्री ज्योति जंगलले आफूले प्रत्यक्ष देख्न-भेट्न नपाए पनि पुस्तकमार्फत उनलाई नियाल्दा सकारात्मक धारणा पाएको बताइन् । पुस्तकमा उपन्यासको भाषिक लय लवज बाह्य आचरण पनि सुन्दर रहेको र पुस्तक नाट्य शैलीमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ ।

साहित्यकार नारायण ढकालले आफू भैरव अर्यालको छिमेकी रहेको भन्दै उनीसँग प्रभावित भई नयाँ कुरा सिक्ने अवसर पाएको बताए ।

पुस्तकमा भैरव अर्यालको जीवनीका ७० वटा घटनाक्रम प्रस्तुत गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयले भग्न भैरव पुस्तक लेखनका क्रममा पत्रकार रोचक घिमिरेको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले भैरव अर्यालसँग बिताएका कतिपय घटनाक्रम, कथावस्तु, प्रसंगमा प्रत्यक्ष सहभागिता र उल्लेखनीय सहयोग रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर