संसदीय समितिको बैठक बोलाउने तयारी, पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने

प्रतिनिधिसभाले १० वटा विषयगत समितिको गठन गरेसँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाउने तयारी गरेको छ । प्रतिनिधिसभाको गत शुक्रबारको बैठकले १० वटा विषयगत समितिहरू गठन गरेको छ । यससँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाएर समिति सभापति चयनको प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ ।

न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसद सचिवालयले समितिको बैठक बोलाउने प्रक्रिया प्रारम्भ गरिसकेको बताए । उनले संसद सचिवालयले समिति गठन भएको जानकारी सम्बन्धित समिति सचिवालयलाई गराइसकेको पनि बताए ।

पहिलो बैठकअघि सभामुखले संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्ने संघीय संसद सचिवालयका प्रवक्ता गिरीले बताए । समिति सचिवालयले पनि समितिको ज्येष्ठ सदस्यसँग समन्वय गरेर मिति तय गरी पहिलो बैठक बोलाउने उनले जानकारी दिए ।

प्रवक्ता गिरीले सबै समितिहरूको पहिलो बैठक एकैपटक बस्न सक्ने बताए । समितिको बैठक बस्न कुनै प्रकारको बाधा नरहेको पनि उनले बताए ।

प्रवक्ता गिरीले सभामुखले तोकेको दिनमा समिति सभापतिको निर्वाचन हुने र सोको सूचना प्रतिनिधिसभाका सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने नियमावलीमा व्यवस्था रहेको बताए ।

प्रतिनिधिसभामा १० वटा विषयगत समितिहरू रहेका छन् । यसका साथै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू रहने गरी दुईवटा विषयगत समितिहरू पनि छन् । प्रतिनिधिसभाको वैशाख १५ गतेको बैठकले समितिमा रहने सदस्यहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य रहेका अनि मन्त्रिपरिषद सदस्य भएकाहरू सबै समितिमा उत्तरदायी भूमिकामा रहने भएकाले विषयगत समितिहरूमा सदस्य तोकिने व्यवस्था छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *