तत्काल प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने बारको चेतावनी

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशाेसिएशनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ । मंगलबार पनि नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै विरोध प्रदर्शन गरको हो ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एशाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए । उनले आन्दोलन एक हप्तासम्म जारी रहने बताए ।

‘नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयमा अभियान सञ्चालन गरेको छ । नेपालको संवैधानिक परिषद्ले नेपालको प्रधानन्यायाधीश नियुक्ति गर्न सकेन वा गरेन, त्यसका कारणले हामी आन्दोलित छौँ । बार एशाेसिएशनका ९० वटै बार युनिटमा आज कार्यक्रम भएको छ, तेस्रो दिन हो, एक हप्तासम्म जारी हुनेछ । त्यसपछि पनि समाधान आउन सकेन भने एक हप्तापछि पुनः नयाँ किसिमको आन्दोलन सुरु गर्नेछ,’ अध्यक्ष घिमिरेले भने ।

कानून व्यवसायीहरूले ‘संवैधानिक दायित्व पूरा गर’, ‘प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर’, ‘सर्वोच्च अदालत र सबै अदालतहरूमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर’, ‘स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *