भुटानी शरणार्थी प्रकरणमा संलग्न सरकारभित्र र बाहिर रहेका सबैलाई कारबाही हुन्छ : महरा

सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’ मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताएका छन्।

पूर्वसभामुखसमेत रहेका महराले सरकारभित्र भए पनि वा बाहिर भए पनि सो प्रकरणका दोषीमाथि कारबाही हुने बताएका हुन्।

शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने बताए।

उनले भने,‘जो दोषी छन् तिनी कारबाहीको दायराभित्र पर्दछन्। जो दोषी छैन त्यो त कारबाहीको दायराभित्र पर्ने कुरा भएन। सरकारभित्र हुन् वा बाहिर, दोषीलाई कारबाही हुन्छ। त्यसमा कुनै भेदभाव हुँदैन।’

उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने उनको भनाइ छ। उनले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको बताए।

उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरू प्रयासरत रहेको समेत बताए। त्यसका लागि नेकपा (समाजवादी पार्टी), जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासहितका ६ वटा राजनीतिक पार्टीसँगको छलफल जारी रहेको उनले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *