क्यान्टनमेन्ट घोटालाकाण्डमा आफूलाई चोखो प्रमाणित गर्न प्रधानमन्त्रीलाई लिङ्देनको चुनौती

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भ्रष्टाचारका फाइलहरू खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन्।

आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला भ्रष्टाचारका फाइलहरू खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताएका हुन्।

उनले सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरूलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताए। उनले वाइडबडी काण्ड, ललिता निवास, एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गरे।

‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन्। अहिले केही मानिसहरू पक्राउ परेका छन्। एकपछि अर्को उच्च पदस्थ मानिसहरूको नामहरू आइराखेका छन्। म यहीँबाट सरकारलाई भन्न चाहन्छु, यो छानबिनको क्रम, यो कारबाहीको क्रम जसरी अगाडि बढेको छ, विगतका वाइडबडी काण्ड, ललिता निवास, एनसेल काण्ड जस्तै यो काण्ड सेलाएर जानु हुँदैन। यो देखाउनका लागि मात्रै हुनु हुँदैन। यदि पुष्पकमल दाहालले सुनियतका साथ, सुविचारका साथ यो कदम अगाडि बढाउनु भएको, यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यसमा समर्थन रहन्छ। र उहाँले यो मात्रै होइन फेरि पनि भन्छु अब वाइडबडी काण्डको फाइल खोल्नुपर्छ। एनसेलको फाइल खोल्नुपर्‍याे। ललिता निवास जग्गा प्रकरणको फाइल खोल्नुपर्‍याे। प्रचण्ड कति वर्ष सरकारमा बस्नुपर्ने हो राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहन्छ। क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ। त्यो के हो, फाइल खोलेर उहाँले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्‍याे। तर भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्‍याे भने लामो समय पत्याइँदैन यो कुरालाई।’

अध्यक्ष लिङ्देनले देश आर्थिक रूपमा टाट पल्टने अवस्थामा रहेको भए पनि सरकारले अर्थतन्त्र सुधार गर्ने कुनै कदम नचालेको बताए। उनले सरकार कुहिरोमा हराएको कागजस्तो अवस्थामा रहेको उल्लेख गरे। उनले सरकारको आगामी यात्रा पनि स्पष्ट नभएको बताए।

अध्यक्ष लिङ्देनले देशमा नांगो रूपले विदेशी हस्तक्षेप बढेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *