नयाँ स्टक एक्सचेन्ज लाइसेन्स

प्रक्रिया रोक्न फेरि चलखेल, नयाँ स्टक एक्सचेन्जका पक्षमा लगानीकर्ता

सर्वोच्च अदालतले लामो बहस पैरवी र घटनाक्रमको विश्लेषणपछि नेपालमा नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहेको भन्दै त्यसबिरुद्ध परेका सबै रिट निवेदन खारेज गरेको छ । योसँगै नयाँ स्टक एक्सचेन्जका लागि प्रक्रिया सुरु भएपछि फेरि एउटा समूह संगठित रुपमै ३ अर्व चुक्त पूँजी रहने व्यवसायमा २० अर्वको भ्रष्टाचार भयो भन्दै रोक्ने प्रयत्नमा लागेका छन् । यता लाखौं साना तथा ठुला शेयरबजारका लगानीकर्ता नयाँ स्टक एक्सचेन्जको पक्षमा उभिएका छन् ।

पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज स्थापनामा निजी क्षेत्रको लगानी हुने गरी नियमावली संशोधन गरेपछि यसको पक्षविपक्षमा धारणा सार्वजनिक भइरहेका छन् । बोर्ड र सेयर लगानीकर्ताले पुँजीबजारमा प्रतिस्पर्धाका लागि नयाँ स्टक एक्सचेन्जको आवश्यकता भएको बताइरहँदा अर्को पक्षले भने तत्काल यसको आवश्यकता नभएको जनाएका छन् ।

धितोपत्र बोर्डले ‘धितोपत्र बजार सञ्चालन नियमावली, २०६४’ संशोधन गरेर प्राइभेट लिमिटेड कम्पनीले पनि स्टक एक्सचेन्जमा लगानी गर्न पाउने व्यवस्था ल्याएको हो । यसअघि निजी क्षेत्रले स्टक एक्सचेन्जमा लगानी गर्न नपाउने व्यवस्था थियो । हाल सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मात्र सञ्चालनमा छ ।

बोर्डले नियमावली संशोधन गरेपछि त्यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । सर्वोच्च अदालतले पनि गत २६ चैतमा फैसला गर्दै उक्त रिट खारेज गरिसकेको छ । अदालतको आदेशअनुसार नै बोर्डले स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न आह्वान गरेको सूचनामा हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेड नामबाट तीनवटा आवेदन पनि परेको छ ।

हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रूपका अध्यक्ष शंकरलाल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, लक्की ग्रूपका सतीशलाल मोर, दुगड ग्रूपका विवेक दुगड, ज्योति समूहका सौरभ ज्योति, महासंघका पूर्वअध्यक्षद्वय पशुपति मुरारका र भवानी राणा, व्यवसायी राजेन्द्र खेतान, व्यवसायी दीपक भट्ट, रोहित गुप्ता, आशिष श्रेष्ठ र जुनी गुरुङको पनि लगानी छ ।
नेसनल स्टक एक्सचेन्जमा गैरआवासीय नेपालीहरू गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी र कुल आचार्य, महासचिव गौरी जोशी र दीपक तिमिल्सिनाको लगानी छ । अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती लगायत छन् ।

यीमध्ये एउटा कम्पनीले स्टक एक्सचेन्ज सञ्चालनको अनुमति पाउनेछ, जसको चुक्ता पुँजी न्यूनतम ३ अर्ब रुपैयाँ र ३० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याउनुपर्ने व्यवस्था छ । तर स्टक एक्सचेन्जको यो प्रक्रियामा भ्रष्टाचार भएको आरोप एक पक्षले लगाउँदै आएको छ । सेयर लगानीकर्ताहरुले भने प्रक्रिया नै पूरा नभई भ्रष्टाचार भएको भन्न नमिल्ने धारणा राख्दै आएका छन् ।

पुँजीबजारलाई प्रतिस्पर्धी, सबैका लागि खुला र पारदर्शी बनाउनका लागि पनि नयाँ स्टक एक्सचेन्ज आवश्यक भएको धितोपत्र बोर्डको भनाइ छ । स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या बढाउन सहज नीतिगत व्यवस्था गरेको बोर्डले जनाएको छ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने क्रममा व्यापारिक घरानाका कारण स्वार्थ बाझिने आशंका गरिए पनि बोर्डले भने विधिसम्मत प्रक्रिया थालेको देखिन्छ ।

प्रक्रियाकै चरणमा रहेकाले पनि भ्रष्टाचारको आरोप लगाई हाल्न नमिल्ने सेयर लगानीकर्ताको भनाइ छ । विगतमा पनि बैंक, बीमा तथा लघुवित्तको लाइसेन्स वितरण गरिँदा यस्तै प्रश्न आएको तर भ्रष्टाचारको गतिविधि नदेखिएको भन्दै लगानीकर्ताले बजारमा प्रतिस्पर्धाका लागि पनि नयाँ स्टक एक्सचेन्जको आवश्यकता भएको जनाएका छन् ।

‘स्टक एक्सचेन्जको विधि पु¥याएर लाइसेन्स दिन लाग्दा भ्रष्टाचार भएको हो भने हिजो बैंक, बिमा र माइक्रोफाइनान्सको लाइसेन्स मनपरी बाँड्दा के भएको थियो ? नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड (एनआरआईसी) दिँँदा केही नहुने ? हिमालयन रिमा भ्रष्टाचार हुने ? नेप्समा केही नहुने तर हिमालयन स्टकमा अनियमितता हुने ? हिजो १२ बिमाको लाइसेन्स बाँड्दा केही नहुने तर अहिले सेटिङ हुने ? त्यसो हो भन्ने लाइसेन्स दिनेलाई कारबाही गर्नुपर्छ भनौं,’ एक सेयर लगानीकर्ताले भने ।

बोर्डका अनुसार अहिले नेप्सेमा कुल बजार पूँजीकरण २७ खर्ब रुपैयाँभन्दा बढी छ । त्यसमा अढाइ सय कम्पनीमात्र सूचीकृत छन् । नयाँ स्टक एक्सचेन्जले नयाँ कम्पनीहरुलाई सेयरबजारमा आकर्षित गर्ने बोर्डको भनाइ छ । यसले पारदर्शिता बढ्ने, समग्र लेखा प्रणालीमा सुधार हुने तथा बलिया र स्थापित कम्पनी सूचीकृत हुँदा जनताको स्वामित्व धेरैभन्दा धेरै कम्पनीमा फैलिने बोर्डको दाबी छ ।

झण्डै १४ लाख लगानीकर्ताहरू जोडिएको नेपालको सेयर बजारलाई थप परिस्कृत र प्रभावकारी बनाउन नयाँ स्टक एक्सचेन्ज चाहिले लगानीकर्ताहरुको भनाइ छ । उच्च कारोबार भएको बेलामा समस्या आउने, विभिन्न प्रणालीले काम नगर्ने र चाहेर पनि लगानीकर्ताले सेयर किनबेच गर्न नसक्ने अवस्थामा सुधार हुने अपेक्षा लगानीकर्ताको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *