नेपाल प्रहरीलाई धन्यवाद भन्दै भ्रष्टाचारविरुद्व जाग्यो देश

देशमा व्याप्त भ्रष्टाचारविरुद्ध नागरिकहरू वृहत् प्रदर्शनमा उत्रिएका छन्। काठमाडौंको नक्सालस्थित नारायणचौर र माइतीघर मण्डलामा शनिबार सर्वसाधारण, नागरिक अगुवा र विभिन्न राजनीतक दलका नेताहरूको सहभागितामा भ्रष्टचारविरुद्ध प्रदर्शन सुरु भएको हो।

प्रदर्शनकारीहरूले हाल उत्कर्षमा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणसहितका भ्रष्टाचारमा संलग्नलाई कानूनी कारबाहीको माग गरेका छन्।

 

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’ कै संलग्नता देखिएपछि नागरिकहरू स्वस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका हुन्। आन्दोलित उनीहरूले नक्कली शरणार्थी प्रकरण अनुसन्धानमा प्रहरीले खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् र निष्पक्ष अनुसन्धानका लागि खुट्टा नकमाउन सुझाएका छन्।

नारायणचौरमा भएको प्रदर्शनमा सर्वसाधारणका साथै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नागरिक अगुवाहरू डा. गोविन्द केसी, केदारभक्त माथेमा, भोजराज पोखरेल, देवेन्द्रराज पाण्डेलगायत सहभागी थिए।

 

उक्त प्रदर्शनका सहभागीले ‘दाइभाउजू मात्र होइन, भ्रष्टाचारी भए मेरै आमाबुबालाई पनि कारबाही गर,’ ‘भन्नेछौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’ लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए।

यस्तै माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरूले विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए।

प्रदर्शनमा सहभागीहरूले शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारीपछि फरार रहेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीविरुद्ध कडा कटाक्ष गर्दै नारा लगाएका छन्।

‘टोपबहादुर कि टापबहादुर?’, ‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’, ‘सरकार ठूलो माछा पकडी, लगा छिटो हतकडी’, ‘करोडौं पर्ने बंगला तिमीलाई कसले किन्दियो?’ लगायतका नाराहरूसहित उनीहरूले प्रदर्शन गरेका हुन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर