उदयपुरमा चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा पर्‍याे भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र २२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका थिए ।
उक्त कार्यालयले पत्रकार भेटघाट गरेर जिल्लाका विभिन्न स्थानका बासिन्दालाई चिट्ठा परेको नाममा ठगी गर्नेलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो  ।
चिट्ठा परेको नाममा सम्बन्धित व्यक्तिले करस्वरूप तोकिएबमोजिमको रकम बुझाउनुपर्नेे भन्दै पहिला नै रकम असुल गरेर झुक्याउने गरेको गुनासो बढेपछि पटक-पटकको खोजी र अनुसन्धानपछि ती अभियुक्तलाई पक्राउ गरिएको थियो  ।
पक्राउ पर्नेमा जिल्लाको कटारी नगरपालिका-३ का उज्ज्वल थापामगर, चितवन जिल्ला रत्ननगर नगरपालिका-२ का सुशील श्रेष्ठ र काठमाडौं महानगरपालिका-१०, बुद्धनगरमा लुकछिपी बसेका कटारी-३ का विशाल थापामगर रहेकोे प्रहरी  प्रमुख तथा प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए । उनीहरूविरुद्ध ठगी सम्बन्धित मुद्दासमेत दर्ता गरिएको छ ।
ती अभियुक्तले खोटाङकाे खोटेहाङ गाउँपालिका-२ स्थायी घर भई हाल उदयपुरको त्रियुगा नगरपालिका-३ मोतिगडा बस्ने २९ वर्षका उदय राईलाई २५ लाख भारतीय रुपैयाँ चिट्ठा परेको भन्दै कीर्ते कागजात देखाएर पहिला कर तिर्नुपर्छ, खातामा पैसा बुझाउनु भन्दै तीस हजार रुपैयाँ ठगी गरेका थिए ।
यसैगरी अन्य व्यक्तिलाई पनि  चिट्ठा परेको भन्दै पटक-पटक गरेर उनीहरूले २२ लाख २० हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ  ।
ठगी गर्ने गिरोहले भारतीय नागरिक प्रकाश वर्माको नाममा रहेको एक  कम्पनीबाट चिट्ठा परेको भनेर जिल्लाका सोझासाझा जनतालाई ह्वाटस्एपमार्फत उक्त कम्पनीको छापसमेतको कागजात देखाएर सुरुमै २० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म कर लिएर आफ्ना खातमा रकम संकलन गर्न लगाउने गरेको खुल्न आएको जानकारी दिइयो  ।
पक्राउ परेकाहरूले गाउँ-गाउँमा गएर आफ्ना मान्छेमार्फत पैसा भएका सोझासाझासम्म पुग्ने र नाम टिपेर पहिला उनीहरूको आर्थिक अवस्था अध्ययन गरी रकम ठगी गर्न सकिनेलाई मात्र उनीहरूका नाममा झुटा चिट्ठाका कागजात बनाएर चिट्ठा परेको कीर्ते कागजात देखाउने गरेकाे खुलेकाे छ ।
प्रहरी प्रमुख फुयाँलले भने, ‘चिट्ठाको नाममा ठगी गर्ने आपराधिक समूमध्येको पक्राउ गरिएका तीन जना त समान्य बाहिर भूमिका निर्वाह गर्ने मात्र हुन्,  वास्तविक नाइकेको खोजी भइरहेको छ । प्रहरीले चाँडै उनीहरूसम्म पुग्ने गरी अनुसन्धान सुरु गरेको छ र अब चाँडै मुख्य नाइके पक्राउ पर्नेछ। पक्राउ पर्नेहरूका आधारमा नै मुख्य नाइकेको पनि तीव्र खोजीकार्य सुरु गरिएको  छ ।’
पक्राउ गरिएकाहरूविरुद्ध  मुलुकी अपराधसंहिता-२०७४ को परिच्छेद २१ अन्तर्गत एक्सटर्शनको कसुरमा मुद्दा  दर्ता गरी कारबाही अघि  बढाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *