रेशम चौधरीलाई सर्वोच्चबाट पनि जन्मकैदको फैसला

टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी सर्वाेच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले म‌ंगलबार जिल्ला र उच्च अदालतले सुनाएको सजाय सदर गर्दै चौधरी जेलमुक्त नहुने फैसला गरेको हो ।

०७२ सालमा भएको नरसंहारका प्रतिवादी चौधरीलाई सर्वाेच्चले सफाइ दिन अस्वीकार गरेको हाे । यससँगै उनी रिहा हुने सम्भावना सकिएकाे छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि चौधरीलाई उच्च अदालतले र जिल्ला अदालतले गरेको जन्मकैदको फैसला सदर गरेको छ ।

अदालतले टीकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । यस्तै लक्ष्मण थारूको हकमा ५ वर्षको कैद सजाय घटाएर ३ वर्ष कायम गरिएको छ ।

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टीकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् । जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस भएको थियो ।

प्रतिवादी चौधरीलगायत १४ जना प्रतिवादीको तर्फबाट सफाइ पाउनुपर्ने भन्दै बहस भएको थियो । प्रतिवादीतर्फका अधिवक्ताहरूले घटना राजनीतिक भएका कारण राजनीतिक तवरबाटै हल गर्नुपर्ने र घटनामा संलग्न नभएका व्यक्तिहरूलाई मुछिएको भन्दै उनीहरूलाई सफाइ दिनुपर्ने माग गरेका थिए ।

जवाफी बहसमा सरकारी वकिलका तर्फबाट घटनाको योजनाकार रेशमलाल चौधरी र लक्ष्मण थारू नै रहेको जिकिर गरिएको थियो । यस्तै अन्य व्यक्तिहरूको संलग्नतामा घटना गराइएको भन्दै उनीहरूलाई हदैसम्मको सजाय हुनुपर्ने र कैलाली जिल्ला अदालत तथा उच्च अदालत दिपायलको फैसला सही भएको बहस गरिएको थियो ।

टीकापुरमा भएको थरूहट आन्दोलनको क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *