सरकारले जनअपेक्षा पूरा गर्ने गरी काम गरिरहेको छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण तथा जनअपेक्षा पूरा गर्ने गरी वर्तमान सरकारले राम्रा कामको सुरुवात गरेको बताएकी छन्। प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको वार्षिक साधारणसभालाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले सरकारले जनताका पक्षमा काम गर्ने पहलकदमी लिइरहेको बताएकी हुन्।

सरकारले गरेका राम्रा काम जनतामाझ लैजान सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको मन्त्री शर्माले बताइन्। ‘सरकारले राम्रो कामको सुरुवात गरेको छ,’ उनले भनिन्। प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले यसअघिका दुई कार्यकालबाट सिकेर तेस्रो कार्यकाल सुझबुझका साथ अगाडि बढाएको मन्त्री शर्माको भनाइ छ।

संघीय लोकतान्त्रिक गणतन्त्र सिंगो देशको साझा उपलब्धि भएको उल्लेख गर्दै उनले पछिल्ला दिनमा जनताको संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने क्रम बढिरहेको बताइन्। ‘राजनीतिक उपलब्धिको रक्षा गर्न सञ्चारमाध्यमले सशक्त भूमिका निर्वाह गर्नुपर्छ,’ मन्त्री शर्माले भनिन्, ‘गणतन्त्र, समावेशिता र संघीयतामाथि चौतर्फी आक्रमण भइरहेको छ। यो व्यवस्थामाथि प्रहार गर्नेविरुद्ध एक हुन आवश्यक छ।’

गणतन्त्र स्थापनापछि गुणात्मक उपलब्धि हासिल भएको उनको भनाइ छ। सरकार सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ भनेर लागिपरेको जिकिर गर्दै मन्त्री शर्माले भनिन्, ‘हिजो मात्रै सरकारले नीति कार्यक्रम ल्याएको छ। सञ्चारमाध्यमलाई ज्ञानको उद्योगका रूपमा विकास गर्ने, समानुपातिक विज्ञापनलाई कार्यान्वयन गर्न तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन लागि परेका छौं। सबै मिडियालाई व्यवस्थित गर्नुपर्छ। बजेटमार्फत थप व्यवस्थित गरिनेछ।’

बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले सत्यतथ्यमा आधारित रहेर जनताका पक्षमा कलम चलाउन आग्रह गर्दै पेशागत जिम्मेवारी र दक्षता हेरेर कर्म गर्न सञ्चारकर्मीलाई सुझाव दिए। प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहालले राष्ट्रियता, जनता र उत्पीडित वर्गलाई केन्द्रमा राखेर पत्रकारिता गरिनुपर्ने बताए।

प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले नकारात्मक पत्रकारिताको प्रवृत्ति बढिरहेको अवस्थामा जनताको पत्रकारले त्यसलाई चिर्न सक्नुपर्ने बताए। प्रेस सेन्टरका उपाध्यक्ष ओपेन्द्र शर्माले श्रमजीवी जनताको हकहितका पक्षमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *