जोसुकै भए पनि भ्रष्टाचारीलाई छाडिँदैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफ्नो गृहजिल्ला गोरखा पुगेका छन्। गृहमन्त्री श्रेष्ठ प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको साधारणसभाको उद्घाटन गर्न गोरखा पुगेका हुन्।

गृहजिल्ला पुगेका श्रेष्ठले कार्यक्रम सुरु हुनुअघि कार्यकर्ता भेटघाट गर्दै शान्तिपूर्ण कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक रहेको बताए। उनले सरकार, सदन र सडक तीनवटै मोर्चाको सदुपयोग गर्दै सुशासन, समृद्धि र समाजवादमा पुग्ने विश्वास व्यक्त गरे।

सामाजिक न्यायसहितको समृद्धिका लागि सरकारलाई सफल बनाउन कार्यकर्तालाई सहयोग गर्न गृहमन्त्री श्रेष्ठले अपिल गरे।

गृहमन्त्री श्रेष्ठले जोसुकै भए पनि भ्रष्टाचारीलाई नछाड्ने बताए। जुनसुकै पार्टीको होस् जोसुकै होस् भ्रष्टाचारीलाई कारबाही गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

अनुसन्धानका क्रममा आफ्नै पार्टीका कोही नेताकार्यकर्ता दोषी देखिए उनीहरूलाई पनि काबारही गरिने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले समृद्ध मुलुकको सपना, सामाजिक, आर्थिक रूपान्तरणसहितको समृद्ध नेपालका लागि भ्रष्टाचारको जालो तोड्ने अभियानमा सरकार दृढ रहेको बताए।

उनले पार्टीभित्र गुट बनाउनु अपराध भएको बताए। पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सम्पूर्ण नेताकार्यकर्ता एकताबद्ध भएको जिकिर गर्दै श्रेष्ठले भने, ‘कोही कसैले गुटबन्दी गरेको छ भने त्यो अपराध हो।’

उनले नेकपा (माओवादी केन्द्र) बृहत् वाम समाजवादी एकताको पक्षमा रहेको पनि बताए। ‘एउटा शक्तिशाली पार्टी निर्माणको अभियानमा छौँ,’ श्रेष्ठले भने, ‘छिट्टै एकीकृत क्रान्तिकारी शक्ति निर्माण गर्छौँ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *