साँखु र बज्रयोगिनीलाई विश्व सम्पदा सूचीमा समावेश गर्न सोविता गौतमको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी छन्।

आइतबार सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद गौतमले देशका विभिन्न आयोजनाहरू मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको भन्दै ती समस्याहरूलाई समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी हुन्।

उनले रैथाने बाली, बीउबिजन, नश्ल र कृषि तथा पशुपक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समूहहरूलाई स्रोत दिएर जिम्मेवार बनाउनुपर्ने बताइन्। त्यसैगरी कृषि, पशुपक्षी र खाद्यसम्बन्धी प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गरी यस्ता वस्तुहरूको ओसारपसार हुने सबै भन्सारबिन्दु र मुख्य शहरहरूमा प्रयोगशाला स्थापना हुनुपर्ने उनले बताइन्।

उनले काठमाडौं क्षेत्र नम्बर २ मा रहेको साँखु र बज्रयोगिनीलाई विश्व सम्पदा सूचीमा समावेश गर्नसमेत आग्रह गरिन्। विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन होटल, राजमार्ग र विभिन्न ठाउँहरूमा चार्जिङ सेन्टर स्थापना हुनुपर्नेमा पनि उनले जोड दिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर