भारत र बंगलादेश नेपालमा उत्पादित विद्युत किन्न आतुर छन् : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन् ।

तामाकोशी पाँचौं जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उनले भारत र बंगलादेश नेपालमा उत्पादित विद्युत किन्नका लागि आतुर रहेको बताए । घिसिङले ती देशमा विद्युत बिक्री गर्दा वर्षायामको विद्युतले राम्रो दर पाउने उल्लेख गरे ।

सञ्चय कोषले यसअघि माथिल्लो तामाकोशी, साञ्जेन, रसुवागढी, मध्यभोटेकोशी जस्ता आयोजना लगानी गरिसकेको छ । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९ दशमलव आठ मेगावाट क्षमताको आयोजनामा कोषले १३ अर्ब ७४ करोड रुपैयाँ बराबरको लगानी गर्ने भएको हो । निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ बराबरको अनुमानित लागत रहेको आयोजनामा कोषले एकल रूपमा नै लगानी गर्न लागेको हो ।

जनताको जलविद्युत कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्वसाधारणलाई शेयर बिक्री गरेर स्वपुँजी (इक्विटी) बाट जुटाइने छ । आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सबैका लागि, समृद्धिका लागि र स्वच्छ वातावरणका लागि हरित ऊर्जा नेपालको सम्भावना र आवश्यकता रहेको उल्लेख गर्दै कार्यक्रममा मन्त्री बस्नेतले यसका लागि जलविद्युतको उत्पादन बढाउने, प्रसारण तथा प्रणालीका पूर्वाधार विस्तारमा काम भइरहेको बताए ।

मन्त्री बस्नेतले खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत निर्यातका लागि बजार सुनिश्चितका लागि प्रयास भइरहेको उल्लेख गरे । उनले आयोजना तोकिएकै समय र लागतमा सम्पन्न गरी विकास निर्माणमा ढिला हुँदा उठ्ने प्रश्नको जवाफ दिनुपर्ने बताए ।

प्रशासक धितालले जलविद्युत क्षेत्रमा करिब आठ सय मेगावाटका आयोजनामा ४० अर्ब रुपैयाँभन्दा बढी कोषले लगानी गरेको जानकारी दिए । उनले निर्धारित समय र लागतमा निर्माण सम्पन गरी आयोजनालाई नमुना बनाइनुपर्नेमा जोड दिए । कम्पनीका सीईओ भण्डारीले आयोजनाको निर्माण चार मनिाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

तामाकोशी पाँचौं चार सय ५६ मेगावाटको क्षमताको माथिल्लो तामाकोशीको जलविद्युत आयोजनाबाट विद्युत उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो । त्यसैले तामाकोसी पाँचौंले बाँध, बालुवा थिग्र्‍याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकाले आयोजनालाई आकर्षक मानिएको छ ।

माथिल्लो तामाकोशीको विद्युतगृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने सिभिल संरचनाको निर्माण भइसकेको छ । हाइड्रोमेकानिकल काम बाँकी छ । आयोजनाले आठ किलोमिटर सुरुङ, विद्युतगृह, करिब दुई किलोमिटर दुई सय २० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्नेछ ।

आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनोटका लागि टेन्डर प्रक्रियामा छ । विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेका छन् । आयोजना निर्माणमा आवश्यक पर्ने करिब एक सय ३३ रोपनी निजी जग्गा अधिग्रहण गरिसकिएको छ ।

आयोजनाबाट वार्षिक रूपमा ४९ करोड ५१ लाख युनिट विद्युत उत्पादन हुनेछ । माथिल्लो तामाकोशीमा रोलवालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत वृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्नेछ । आयोजनाबाट उत्पादित विद्युत खरिद बिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *