लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

आज शपथ लिएका मन्त्रीहरूमा नेपाली कांग्रेसका राजुप्रसाद खनाललाई स्वास्थ्य, जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी तोकिएको छ ।

गत वैशाख १५ गते नियुक्त हुनुभएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो नेतृत्वको सरकारमा आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसका साथै गत वैशाख १५ गते नियुक्त बिनाविभागीय मन्त्रीलाई पनि मुख्यमन्त्री चौधरीले आज जिम्मेवारी तोकेका छन् ।

मुख्यमन्त्री चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी तोकेका छन् । सोही दिन नियुक्त नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्कीलाई यसअघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

कांग्रेसका डिल्ली चौधरी नेतृत्वको सरकारलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक/एक र स्वतन्त्र एक सांसद गरी ५३ जना प्रदेशसभा सदस्यको समर्थन छ ।

मुख्य न्यायाधिवक्ताको शपथ
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्त वरिष्ठ अधिवक्ता प्राध्यापक डा बुद्धबहादुर थापाले पनि आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले थापालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता थापालाई आज उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दले प्रदेश प्रमुख कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुखको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराएका थिए ।

बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराउँदै आउनुभएका थापा नेपाल प्राध्यापक संघका पूर्वकेन्द्रीय अध्यक्ष हुन् । राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर