दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढामगरलाई विमानस्थलमा भव्य स्वागत

घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढामगरलाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ।
लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै  मगर समुदायले झाँकीसहित स्वागत गरेका हुन्।
भूतपूर्व गोर्खा सैनिकसमेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए। योसँगै उनी घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोहीसमेत बनेका छन्। उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन्।
स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही बुढामगरले आफ्नो जीवनमा अदम्य साहस पटक-पटक देखाएको भन्दै बधाई दिए।
‘हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएको छ,’ मन्त्री किरातीले भने, ‘उहाँले विश्व समुदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिएनुभएको छ।’
सो अवसरमा आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टिमलाई विशेष धन्यवाद दिए।
‘आफ्नो व्यस्त समयका बाबजुद पनि तपाईंहरू मलाई स्वागत गर्न आउनुभएको छ, यसका लागि म धेरैधेरै धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्‍याउने टिमबिना मेरो प्रयास सफल हुने थिएन।’
उनले सो अवसरमा नेपाल सरकार र संसारका विभिन्न कुनाबाट आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर